अदालतलाई धम्की नदिएको प्रधानमन्त्रीको प्रष्टोक्ति

अदालतलाई धम्की नदिएको प्रधानमन्त्रीको प्रष्टोक्ति


प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको बताउँदै आफूले अदालतलाई धम्की नदिएको स्पष्ट पारेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको सोमबार शिलान्यासका क्रममा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहने र आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए ।

प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति शुरु हुने प्रधानमन्त्रीको जिकिर थियो । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको अभिव्यक्ति कन्चनपुरमा पनि उनले दोहो¥याए ।

अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झैँ गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए ।

पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले यथेष्ट विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगका निम्ति विद्युत् आपूर्तिमा सहज हुने उनले जनाए ।

तस्बिर रासस