बलात्कारआरोपी शिक्षकलाई सात दिन थुनामा राखि अनुसन्धान गरिँदै

बलात्कारआरोपी शिक्षकलाई सात दिन थुनामा राखि अनुसन्धान गरिँदै



डम्बर निदाल, डडेल्धुरा

बौद्धिक अपाङ्गता भएकी १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने शिक्षकलाई डडेल्धुरा जिल्ला अदालतले सात दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–४ जैसेराको भुवनेश्वरी माविमा बौद्धिक अपाङ्गता श्रोत कक्षामा अध्ययनरत बालिकालाई सोही विद्यालयका शिक्षक देविलाल भट्टले जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

शिक्षक भट्टले छात्राबासमा बस्ने बालिकालाई गत शनिबार दिउँसो तीन बजे बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको थियो ।

सोमबार जिल्ला अदालत चलान गरिएका शिक्षकलाई थप अनुसन्धानका लागि सात दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भुवनेश्वरी माविको बौद्धिक अपाङ्गता श्रोत तर्फ कक्षा २ मा अध्ययनरत बालिकालाई ४२ वर्षका शिक्षकले जबर्जस्ती करणी गरेका थिए । शिक्षक भट्ट छात्राबाससँगै जोडिएको कोठामा बस्दै आएका थिए ।

डोटीको शिखर नगरपालिका घर भएकी बालिका बौद्धिक श्रोत कक्षा तर्फ अध्ययन गर्न छात्राबासमा बस्दै आएकी थिइन् । शिक्षक भट्ट पनि डोटीकै आदर्श गाउँपालिका घर भई हाल कैलालीको गोदावरी नगरपालिका अत्तरिया बस्दै आएका बताइएको छ ।