बामदेवद्वारा सचिवालय बैठक बोलाउन माग

बामदेवद्वारा सचिवालय बैठक बोलाउन माग



मध्यमार्ग रोजेर पार्टी एकताको अभियानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उनले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लागेको घोषणा गरेका थिए । उक्त अभियानको गौतम संयोजकसमेत रहेका छन् ।

पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहेका छन् । राष्ट्रियसभाका सदस्य गौतम कुनै समूहमा नरही एकता जोगाउन लागेका थिए ।