सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य सुरु

सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य सुरु



सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापनाको काम गर्न भूमिपूजन (शिलान्यास) कार्यक्रम भएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापनाको कार्य अघि बढाउन आज संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

साँस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको ५ अर्ब ८० करोड आर्थिक सहयोगअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ साँस्कृतिक सम्पदामध्ये यो पहिलो परियोजना हो । यी सबै अट्ठाइस साँस्कृतिक सम्पदा क्षेत्रहरू नेपाल सरकारले पहिचान गरेका हुन् । करिव चार वर्षअघि (सन् २०१७ अगस्ट)मा यी क्षेत्रहरूको पुनर्निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्डअनुरुप पुनर्स्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायहरूको पहिचान गरिरहेको छ । केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो ।

२०७२ सालको भूकम्पले क्षति पुऱ्याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनःस्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिकाअनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापना हुनेछ । यी सम्पदाहरुको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामाग्रीहरुको यथासक्य प्रयोग गरिने बताइएको छ । मन्दिरको साजसज्जा तथा काष्ठकलासम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पुऱ्याइने र यसका परम्परागत पोलिक्रोम कलाको संरक्षण तथा सम्बद्र्घन गरिने सरोकार पक्षको प्रतिबद्धता छ ।

नेपाल सरकारले अनुमोदन गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार संरक्षण तथा पुनर्स्थापना कार्यमा Indian National Trust for Art and Cultural Heritage (INTACH) ले प्राविधिक सहयोग प्रदान गर्ने जनाइएको छ ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर १०औँ शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ । काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाई दुवै हिन्दू र बौद्ध धर्मावलम्बीहरुले उही आस्थाका साथ पूजा गर्छन् । यी जीवित साँस्कृतिक सम्पदाहरुको परम्परागत गौरव गाथालाई संरक्षण गर्न यी क्षेत्रहरूको संरक्षण एवम् पुनर्निर्माणमा नेपाल सरकारसँग आबद्ध हुन पाएकोमा भारत सरकार अत्यन्तै हर्षित रहेकोे जनाइएको छ ।

आइतबार आयोजित उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्य, काठमाडौंका उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्यामकिशोर सिंह, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव गोपालप्रसाद अर्याल, पुरातत्व विभागका प्रमुख कार्यकारी रामबहादुर कुँवर, हनुमान ढोका संग्रहालयका प्रमुख कार्यकारी सन्दीप खनाल, सेतो मच्छिन्द्रनाथ मन्दिरको उपभोक्ता समितिका सदस्य एवम् स्थानीय सदस्यको सहभागिता थियो । भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरू पनि उक्त कार्यक्रममा उपस्थित थिए ।