भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडीको स्मृतिमा राष्ट्रिय स्तरको प्रतियोगिता हुने

भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडीको स्मृतिमा राष्ट्रिय स्तरको प्रतियोगिता हुने



प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकद्वारा जानकारी

हेमशंकर सिंह, राजविराज

सप्तरीका पूर्व राष्ट्रिय भारत्तोलन खेलाडी स्व. देवसुन्दर यादवको स्मृतिमा यही फागुन २९ गतेदेखि राजविराजमा हुने प्रथम देवसुन्दर स्मृति कप राष्ट्रिय महिला एवं पुरुष भारत्तोलन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ ।

प्रतियोगिताको आयोजक जिल्ला भारत्तोलन संघ सप्तरीले राजबिराजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुका साथै खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवले प्रतियोगितामा सातवटै प्रदेशसँगै सेना, सशस्त्र र नेपाल प्रहरीका विभागीय टिमको समेत सहभागिता रहने जानकारी दिए । कुल १ सय २५ खेलाडी सहभागी रहने प्रतियोगितामा महिला खेलाडीको संख्या ४० देखि ५० सम्म रहने उनले बताए । त्यस्तै, प्रतियोगितामा १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि जिल्ला संघकै पहलमा स्थानीय तह र विभिन्न संघ संस्था, व्यक्तिबाट उक्त सहयोग रकम जुटाइने उनले बताए ।

प्रतियोगितामा विभिन्न तौल समुहमा महिला र पुरुष तर्फ ३५–३५ खेलमा प्रतिस्पर्धा हुनेछन् । यस्तै प्रतियोगिताको उदघाटन प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा भारत्तोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ महासचिव तिलकबहादुर राउत, संघका सल्लाहकार सूर्यनाथ यादव जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले पनि प्रतियोगिताबारे आवश्यक जानकारी गराएका थिए ।

प्रतियोगिताका विजेता खेलाडीलाई कप, मेडल, कदरपत्रका साथै उत्कृष्ट खेलाडीको चयन गरी नगद पुरस्कार दिइने बताइएको छ ।