रेगनलाई चक्र लामा-किसन लामा स्मृति स्नुकर उपाधि

रेगनलाई चक्र लामा-किसन लामा स्मृति स्नुकर उपाधि



अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ (अंकितमान श्रेष्ठ) ले प्रथम चक्र लामा, किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको ‘बेस्ट अफ १५’को फाइनलमा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सोम लामालाई ८–६ ले पराजित गरे । रेगनले खेल ९१–३४, २६–९५, ३३–७३, ८०–४२, ६७–४२, २९–९३, ८०–२९, ७१–४५, २–१२१, ६३–३२, ९०–४२, २४–८९, ७–१३० र ८०–२९ ले जितेका हुन् ।

उपाधिसँगै रेगनले २ लाख ११ हजार ५ सय नगद पुरस्कार जिते । उपविजेता सोमले ९१ हजार ५ सय प्राप्त गरे । सेमिफाइनलमा पराजित एनआरटीका दीपक मगर र फस्ट ब्रेकका अमन कार्कीले जनही ३० हजार ५ सय नगद पुरस्कार हात पारे ।

त्यस्तै, क्वाटरफाइनलमा पराजितले जनही १० हजार ५ सय नगद पुरस्कार पाए भने प्रिक्वाटर फाइनलमा पराजितले गिफ्ट ह्याम्परवापत क्यु एन्ड क्यु बक्स हात पारे ।

बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीको संयुक्त आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा भएको प्रतियोगितामा अजिमाका फुरी शेर्पा उत्कृष्ट खेलाडी तथा चामुण्डाका तेन्जिङ लामा र अजिमाका रेन्जेन लामा उदीयमान खेलाड घोषित भए । ब्रेक प्वाइन्टका विनोद श्रेष्ठ अनुशासित खेलाडी ठहरिए । चारै समान ११ हजार ५ सय–११ हजार ५ सय नगद पुरस्कार हात पारे ।

प्रतियोगितामा एनआरटीका दीपक मगर सर्वाधिक ब्रेक कर्ता बने । सर्वाधिक ८४ अंकको ब्रेक गरेका उनले २१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा सेन्चुरी ब्रेक गर्नेलाई २ लाख १ हजार तथा १४७ ब्रेक गर्नेलाई १० लाख नगद पुरस्कार राखिएको थियो । कुनै पनि खेलाडीले उक्त उपलब्धि हासिल गर्न सकेनन् । नेपाली स्नुकरको इतिहासमै यो प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको हो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, नेपाल बिलियर्ड, स्नुकर तथा पुल सङ्घका अध्यक्षसमेत रहेका स्नुकरका चार पटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, प्रतियोगिता संयोजक राजेन लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

माघ २४ गतेदेखि सुरु प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी थिए । खेलाडी सहभागिताका आधारमा पनि यो प्रतियोगिता ठूलो हो ।