खेलबाट अनुशासनको पाठ सिक्न नेता महतको सुझाव

खेलबाट अनुशासनको पाठ सिक्न नेता महतको सुझाव


नेपाली कांग्रेसका नेता डा. रामशरण महतले खेलबाट अनुशासनको पाठ सिक्नुपर्ने बताउनुभएको छ । तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरिस्थित आदर्श नमूना युवा क्लबले आयोजना गरेको नवौँ आदर्श तथा चौथो तारा स्मृति कप फुटबल प्रतियोगिताको शनिबार समापन गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका डा. महतले खेलले मानिसलाई अनुशासित बनाउने चर्चा गर्नुभयो ।

खेलले अनुशासनका साथै खेलाडीको शारीरिक तथा मानसिक विकास गर्ने उहाँको भनाइ थियो । खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादनका लागि खेलकूदका गतिविधि सञ्चालन भइरहनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेलकूदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

नवौँ आदर्श तथा चौथो तारा स्मृति कपको उपाधि तनहुँस्थित थर्पु युवा क्लब (ए) ले जितेको छ । शनिबार भएको फाइनल खेलमा दोभान युवा क्लबलाई पराजित गर्दै आदर्श कपको उपाधि थर्पुले चुमेको हो ।

विजयसँगै थर्पु युवा क्लबले नगद रु एक लाख एक, मेडल र ट्रफी जितेको छ भने उपविजेता दोभानले नगद रु ५० हजार एक, मेडल र ट्रफीमा चित्त बुझाएको छ ।

pict:rss