मन्त्रीद्वारा भारबेल उचालेर भारोत्तोलन प्रतियोगिताको शुभारम्भ

मन्त्रीद्वारा भारबेल उचालेर भारोत्तोलन प्रतियोगिताको शुभारम्भ



पहिलो दिनको खेलमा पदकमाथि विभागीय टोलीको बर्चस्व

हेमशंकर सिंह, सप्तरी

प्रथम देवसुन्दर राष्ट्रिय महिला एवं पुरुष भारोत्तोलन प्रतियोगिता सप्तरी सदरमुकाम राजविराजमा शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा शनिबार शुरु भएको प्रतियोगिताको एक कार्यक्रमबीच प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले १८ केजीको वारबेल (भार) उचालेर उद्घाटन गरेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री साहले खेलकुद क्षेत्रको विकासका लागि “खिलेगा मधेश, खेलेगा मधेश”को सिद्धान्त र प्रण बोकेर प्रदेश सरकार अघि बढेको बताए । प्रदेशमा खेलकुदको विकास, विस्तार, प्रवद्र्धन, संचालन र व्यवस्थापनका लागि आफूहरु लागिपरेको बताउँदै उनले यस्ता प्रतियोगिताले खेलक्षेत्रको मात्र नभई खेलाडी र देशको विकासका लागि समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे ।

प्रतियोगिता सफलताको शुभकामना दिँदै नेपाल भारोत्तोलन संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले मुलुकका लागि सर्वाधिक पदक ल्याउने खेल मध्येका एक भारोत्तोलन खेल राज्यको उदासिनताका कारण छाँयामा परेको भन्दै यसतर्फ राज्यले उचित ध्यान दिनुपर्नेमा जोड दिए ।

आयोजक भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवले सप्तरी भारोत्तोलन खेलको उर्वभरभूमी समेत भएको बताउँदै यस प्रतियोगिताको माधयमबाट थप राम्रा प्रतिभा निस्किने विश्वास व्यक्त गरे ।

जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा सात वटै प्रदेशका साथै सेना, सशस्त्र र नेपाल प्रहरीका गरि १ सय २० महिला र पुरुष खेलाडीको सहभागिता रहेको संघका सचिव गोपाल प्रसाद गुप्ताले जानकारी दिए ।

प्रतियोतिामा विभिन्न तौल समूहमा महिलातर्फ १७ र पुरुषतर्फ १८ खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन शनिबार महिलातर्फको ४५ केजी सिनियर समूहमा नेपाल प्रहरीकी हिरामोति थारुले स्वर्ण पदक हात पारेकी छन् । यस्तै ४५ केजि महिला यूथतर्फ बर्दियाकी अरुणीमा थारु स्वर्ण, सप्तरीकी अम्बिका यादव रजत र कास्कीकी अनिका गुरुङ कास्य पदक जितेकी छन् । ४५ केजिकै महिला जुनियरतर्फ बर्दियाकै अरुणीमा थारु स्वर्ण, दाङकी सम्झना चौधरी रजत र सप्तरीकी काजल सदा कास्य पदक हात पारेकी छन् ।

महिलाको ४९ केजि सिनियरतर्फ नेपाल प्रहरीकी संगिता राई स्वर्ण र ललितपुरकी उत्साह पाण्डे रजत पदक जितेकी छिन् । ४९ केजी महिला युथतर्फ सप्तरीकी पूजा मण्डल स्वर्ण, कास्कीकी सुस्मा काफ्ले रजत र सप्तरीकी ज्योती मण्डल कास्य जितेकी छन् ।

४९ केजी महिला जुनियरतर्फ बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण पदक जितेकी छन् । यस्तै पुरुष सिनियरको ५५ केजी तौल समूहमा सेनाका तुलाराम महतोले स्वर्ण, नेपाल प्रहरीका गणेश रानाभाटले रजत तथा बर्दियाका रामकुमार थारुले कास्य पदक हात पारेका छन् ।

उद्घाटन खेलमा विजेताहरुलाई कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री मातृका प्रसाद यादव तथा बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंहले पुरस्कार बितरण गरेका छन् । उद्घाटनका अवसरमा अन्तराष्ट्रिय पदकधारी खेलाडी समेत रहेका अशोक फिटनेश कम्पनीका संचालक अशोक शाहीले विभिन्न जिल्लाका खेलाडीलाई ५० हजार मुल्य बराबरको खेल सामग्रि निःशुल्क उपलब्ध गराएका थिए ।

भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संघका वरिष्ठ उपाध्यक्ष पार्थोसार्थ सेन गुप्ता, महासचिव तिलक राउत, सल्लाहकार सूर्यनाथ यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, काठमाडौं भारोत्तलन संघका अध्यक्ष बिजेन्द्र बिक्रम शाह, जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख दिनेश भुजेल लगायतले शुभकामना ब्यक्त गरे ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा बिजेतासँगै स्ट्रोङगेस्ट म्यान अफ द टुर्नामेन्ट, स्ट्रोङगेस्ट वुमेन अफ द टुर्नामेन्ट, सर्वोत्कृष्ट महिला र पुरुष तथा राइजिङ प्लेयर महिला र पुरुष खेलाडीको पनि छनोट गरि नगद पुरस्कार प्रदान गर्ने रहेको अध्यक्ष यादवले बताए ।

सप्तरीका पुराना एवं पूर्व राष्ट्रिय भारोत्तोलन खेलाडी राजविराज निवासी ५२ वर्षिय देवसुन्दर यादवको २०७६ कात्तिक १४ गते निधन भएको थियो । उनकै स्मृती एवं सम्मनमा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।