भारोत्तोलन प्रतियोगताको दोश्रो दिन नेपाल प्रहरीको वर्चस्व

भारोत्तोलन प्रतियोगताको दोश्रो दिन नेपाल प्रहरीको वर्चस्व


हेमशंकर सिंह, सप्तरी

सप्तरी सदरमुकाम राजविराजमा सञ्चालन भइरहेको देवसुन्दर स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगताको दोश्रो दिन आइतबार उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरी अग्रस्थानमा पुगेको छ ।

अघिल्लो दिन एक स्वर्ण जितेको नेपाल प्रहरीले दोश्रो दिन महिलातर्फ ८ स्वर्ण र पुरुषतर्फ एक स्वर्ण थप्दै स्वर्ण पदकको संख्या १० पु¥याएको छ ।

यस्तै ७ स्वर्ण जित्दै वर्दिया नेपाल प्रहरीलाई पछ्याइरहेको छ । यस्तै नेपाली सेना, बाँके र सशस्त्र प्रहरीले ३–३ स्वर्ण तथा सप्तरी, कंचनपुर र कास्कीले २–२ स्वर्ण हात पारेका छन् । दाङ र पर्साले १–१ स्वर्ण जितेका छन् ।

दोश्रो दिनका विजेता खेलाडीहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले पदक र प्रमाणपत्र बितरण गरेका छन् ।

जिल्ला भारोत्तोलन संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा सातवटै प्रदेशका साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका गरि १ सय २० खेलाडीको सहभागिता रहेको छ । महिला तर्फ १७ र पुरुषतर्फ विभिन्न १८ तौल समूहमा प्रतिष्पर्धा भइरहेको आयोजक समितिले जनाएको छ ।