एनबिए कप च्याम्पियनसीप चैत्र दोश्रो साता

एनबिए कप च्याम्पियनसीप चैत्र दोश्रो साता



नेपाल ब्याडमिन्टन सङ्घको आयोजनमा योनेक्स सनराइज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप चैत्र १५ देखि १८ गतेसम्म आयोजना हुने भएको छ ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसीपमा पुरुष तथा महिला एकल र युगल, मिश्रीत युगल, ब्वाइज तथा गल्र्स यु–१७ र भेट्रान्स युगल ४५ गरी ८ विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन सङ्घले जनाएको छ ।

र्‍याङ्किङ प्रतियोगिता समेत रहेको च्याम्पियनसीपमा नेपाल ब्याडमिन्टन सङ्घसँग आवद्ध जिल्ला ब्याडमिन्टन सङ्घ र आवद्ध हुन बाँकी जिल्ला, विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरीबलको एपिएफल क्बलका खेलाडीहरूले सहभागिता जनाउन पाउने छन् ।

करिव २७ लाखको अनुमानित बजेट रहेको च्याम्पियनसीपमा पुरुष तथा महिला एकलका शीर्ष तीन विजेताले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यसतै युगल तर्फका शिर्ष तीनले नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै यु–१७ ब्वाइज तथा गल्र्सका शीर्ष तीन विजयीले नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

विश्व ब्याडमिन्टन महासङ्घको नियमानुसार खेलाइने च्याम्पियनसीपका लागि प्रत्येक जिल्लालाई पुरुष तथा महिला शीर्ष १६ बरियता बाहेक २ पुरुष र २ महिला कोटा प्रदान गरिएको छ । यस्तै यु १७ तर्फ पनि प्रत्येक जिल्लाका लागि २ पुरुष र २ महिला खेलाडीको कोटा प्रदान गरिएको छ ।

त्यस्तै प्रत्येक टिममा एक जना प्रशिक्षक र एक ब्यवस्थापक रहने छन् । कोटामा परेका प्रत्येक खेलाडी, प्रशिक्षक र ब्यवस्थापकले खान बस्नका लागि नगद ८ सय सुविधा प्राप्त गर्ने छन् । कोटा भन्दा बाहेकका खेलाडी, प्रशिक्षक तथा ब्यवस्थापकले खान बस्ने ब्यवस्था आफू स्वयम्ले गर्नु पर्नेछ ।

त्यस्तै, प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् ।

पुरुष एकलतर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफका दिपेश धामीबीच उपाधिका लागि भएको भीडन्तमा प्रिन्सले बाजी मारेका हुन् । उनले एपीएफका दिपेश धामीमाथि २३–२१, २१–१८ को जित निकालेका थिए । विजयी खेलाडीले ५० हजार र उपविजेताले ३० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे
त्यस्तै महिला एकल तर्फको प्रतिस्पर्धामा आफ्नै क्लबकी अमिता गिरीलाई २१–१०, २१–१७ को सोझो सेटमा पराजित गर्दै राईले उपाधि हात पारिन । विजेता राईले ३० हजार र उपविजेता गिरीले नगद १५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा रहेका एपिएफकी शोभा गौचन र धादिङकी तारा आले प्रत्येकले नगद ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्राप्त गरे ।

त्यस्तै पुरुष युगलतर्फ हिमालयन क्लबका विशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरीको जोडीले आयोजक साईनोका अभिषेक बोश र सुजन थापाको जोडीलाई पराजित गर्दै ५० हजार प्राप्त गरे भने उपबिजेता जोडीले नगद ३० हजार चित्त बुझाए ।

पुरुष भेट्रान ४५ तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी बिजयी भयो । विजयी खेलाडीहरुले ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । पुरुष युगल बीतर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र सञ्जय श्रेष्ठको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडीलाई पराजित गर्दै ट्रफी उचाले । पुरुष सी तर्फको प्रतिस्पर्धामा टोखा युथ क्लबका क्षितीज खनाल र अमन महर्जनको जोडीले बाजी मारेका थिए ।

विजयी खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर फुँयाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सुभाष श्रेष्ठ, महासचिव बिरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक) भेट्रान्स (४५ वर्षमाथि) बी र सी लेबल गरी कुल ६ विधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमका दौरान विश्व ब्याडमिन्टन महासंघको जुनियर १९ तर्फ तेश्रो स्थानमा पुग्न सफल भएका प्रिन्स दाहाललाई सम्मान गरिएको थियो । दाहाललाई तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर फुँयालले प्रशंसा पत्र प्रदान गरे ।