विदेशी दर्शकको उपस्थितिमा जापानीको विरोध

विदेशी दर्शकको उपस्थितिमा जापानीको विरोध



सन् २०२१ मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक प्रतियोगितामा विदेशी दर्शकहरूको उपस्थितिलाई अधिकांश जापानी नागरिकहरूले विरोध जनाएका छन् । यो विषयलाई लिएर हालै गरिएको एक सर्वेक्षणमा ७७ प्रतिशत जापानिज नागरिकहरूले टोकियो ओलम्पिकमा विदेशी नागरिकहरूको उपस्थिति लिएर विरोध जनाएका थिए ।

त्यसमध्ये १८ प्रतिशत नागरिकले समर्थन दिए पनि अधिकांशले विरोध जनाएपछि आयोजक कमिटी असमञ्जसमा परेको छ । सर्वेक्षणको यस्तो धारणा आएपछि अब आयोजक कमिटीले कति सङ्ख्यामा विदेशी दर्शकलाई जापान आउने निमन्त्रणा दिन्छ त्यो अहिले चासोको विषय बनेको छ ।

आउँदो २५ मार्चदेखि शुरु हुने ओलम्पिक टर्च र्‍यालीअगावै योबारेमा निर्णय गरिने आयोजक कमिटीले जानकारी गराएको छ । तर जापानी सञ्चारमाध्यमहरूले भने आयोजक कमिटीले विदेशी दर्शकहरूलाई रोक लगाउने निर्णय गरिसकेको बताएका छन् ।

टोकियो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष हाशिमोतोले आयोजक कमिटी विश्वभरिका खेल प्रशंसकका बीच भव्य कार्यक्रमको आयोजना गरी टोकियो ओलम्पिकको शुभारम्भ गर्न चाहन्छ । तर, अहिलेको समय पहिलेको जस्तो छैन, सावधानी अपनाउन सकिएन भने जुनबेला पनि दुर्घटना हुन सक्छ । त्यतिबेला हामीले औषधि उपचारको पनि सुविधा दिन सकेनौँ भने के होला भनेर प्रश्न गरेका छन् ।

सन् २०२० मा आयोजना हुनेपर्ने टोकियो ओलम्पिक कोरोना सङ्क्रमणका कारण एक वर्षका लागि स्थगित भएको थियो । अब टोकियो ओलम्पिक आउँदो २३ जुलाईदेखि शुभारम्भ भइ ८ अगस्तसम्म सञ्चालन हुनेछ । त्यस्तै पारालम्पिक २४ अगस्तबाट शुभारम्भ भइ ५ सितम्बरसम्म सञ्चालन हुनेछ ।