तीन पुस्तादेखि नै नक्कली नागरिक !

तीन पुस्तादेखि नै नक्कली नागरिक !


  • हेमशंकर सिंह, सप्तरी

तीन पुस्तादेखि नक्कली नागरिकको रुपमा बस्दै आएका ६ जनाको नेपाली नागरिकता खारेज भएको छ । उनीहरुको नागरिकता खारेज गर्दै जिल्ला अदालत सप्तरीले कैद र जरिवाना समेत गरेको छ ।

सप्तरीबाट कीर्ते नागरिकता बनाएर तीन पुस्तादेखि नै उनीहरु नेपाली नागरिकसरह बस्दै आएका थिए ।

सासुको नामबाट आफ्नो र पुरै परिवारको कीर्ते नागरिकता बनाएर उनीहरु वर्षौदेखि यहाँ बस्दै आएका थिए । भारतको बिहार राज्यको जिल्ला मधुबनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गंगाधर यादव, उनका छोरा ५० वर्षीय कमलदेव यादव, निजकी श्रीमती ४५ वर्षीया गुलाबीदेवी यादव, अर्का छोरा ४० वर्षीय अमरेन्द्र यादव, निजकी श्रीमती ३५ वर्षीया ममतादेवी यादव र कमलदेवका छोरा २० वर्षीय विवेकानन्द यादवले कीर्ते गरी नक्कली नागरिकता लिएको ठहर गर्दै जिल्ला अदालत सप्तरीले कैद र जरिवानाको सजाय तोकेको छ ।

जिल्ला न्यायाधीश रीता बख्रेलको इजलाशले गंगाधरलाई ३ वर्ष कैद र २० हजार जरिवाना, कमलदेव र अमरेन्द्रलाई २–२ वर्ष कैद र १०–१० हजार जरिवाना तथा गुलाबदेवी, ममतादेवी र विवेकानन्दलाई जनही १ वर्ष कैद र १० हजार जरिवाना गरेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का अरुणकुमार यादवले दिएको जाहेरीले उनीहरुविरुद्ध किर्ते नागरिकता खडा गरेको तथा झुठा विवरण पेश गरी नागरिकता लिएको मुद्दा दर्ता भई कारवाही अगाडि बढेको थियो ।

अरुणले कात्तिक १६ गते उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले कात्तिक २० गते छानबिन प्रकृया अगाडि बढाउन प्रहरीलाई पत्राचार गरेको थियो ।

गंगाधरको ५० वर्षअघि डाक्नेश्वरी नगरपालिका–२ की सुभद्रादेवीसँग विवाह भएको थियो । गंगाधरले भारतीय महिलासँग दोस्रो विवाह गरी भारतमै राखेका छन् । सुभद्रा भारत बिहारको घोघडिहास्थित घर नगइ माइतमा बस्न थालिन् । गंगाधरले सुभद्रादेवीकी आमा बिल्टीदेबीको नाममा कीर्ते गरी आफ्नो आमा बनाएर मतदाता परिचय पत्र र नागरिकता समेत बंशजको आधारमा बनाए ।

उजुरी परेपछि छानबिन गर्दा बिल्टीदेवीको जग्गा धनी पुर्जामा उल्लेख भएको उनको नाममा जारी भएको नागरिकता नम्बर ७१०२२६१४ नै गंगाधरको नागरिकतामा देखिएपछि उनले कीर्ते नागरिकता बनाएको खुलासा भयो । गंगाधरकै नागरिकताका आधारमा उनका २ छोरा र २ बुहारी र एक नातीले समेत वंशजको नागरिकता लिएका छन् ।

यसैगरी दोहोरो नागरिकता मुद्दामा ६ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको बोदेबर्साईन नगरपालिका–८ बैरियाहीका ३२ वर्षीय जिवछ ठाकुरलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार घरबाटै पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन अन्तर्गत खोजतलासका क्रममा पक्राउ परेका ठाकुरलाई गत सोमबार साँझ प्रहरीले जिल्ला अदालतमा बुझाएका थिए । अदालतले कैद भुक्तानका लागि राजविराज कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

जल्ला अदालत सप्तरीले २०७२ बैशाख १४ गते ठाकुरलाई एक वर्ष कैद र २० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेपछि उनी फरार रहँदै आएका थिए ।