सङ्क्रमण बढ्दै गए परिस्थितिअनुसार निर्णय लिइने स्वास्थ्य मन्त्रालयको प्रष्टोक्ति

सङ्क्रमण बढ्दै गए परिस्थितिअनुसार निर्णय लिइने स्वास्थ्य मन्त्रालयको प्रष्टोक्ति



पछिल्ला दिन कोरोनाको संक्रमण पुनः बढ्न थालेको छ । छिमेकी देश भारतमा संक्रमणको दर बढेपछि नेपालमा त्यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने आँकलन गर्दै सीमानाकामा कडाई गर्नुपर्ने आवाजहरु उठेका छन् । यसै क्रममा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने सरकारी धारणा सार्वजनिक गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताए । बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ भन्ने धारणा डा. अधिकारीले राखेका छन् ।

जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेकोसमेत उनले जिकिर गरे । ‘भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर विस्तारै बढ्दै गएको छ’, उनले भने । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या कमी आएको तर सङ्क्रमण जोखिम कम नभएको उनको भनाइ छ ।

उनले सधैँ साबुनपानीले हातधुन, भौतिक दूरी कायम राख्न र हातले नाकमुख छुनेजस्ता बानी हटाउनसमेत आग्रह गरे । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गत वर्ष आजकै दिनदेखि बन्दाबन्दी भएको थियो । अहिलेसम्म नेपालमा दुई लाख ७६ हजार २४४ सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ७२ हजार ९७ हजार निको र तीन हजार १९ जना सङ्क्रमणका कारण निधन भएका छन् ।