अन्तरकलेज खो-खो कीर्तिपुरमा

अन्तरकलेज खो-खो कीर्तिपुरमा



काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा छात्र, छात्रामा समान ५–५ गरी १० टिमको सहभागिता रहने आयोजित पत्रकार सम्मेलनमा नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिए ।

दुवै समूहमा सहभागिले पहिले एक आपसमा राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् ।

दुईदिने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा हुने छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको प्रतिस्पर्धा उक्त कभर्डहलमा भएको थियो । १३ औं सागमा नेपालले महिलामा रजत र पुरुषमा कांस्य पदक जितेको थियो ।

२०४६ सालको जनआन्दोलनको क्रममा चैत २० गते मृत्युवरण गरेका शहिद राजेन्द्र महर्जन, राजमान माली, हीराकाजी महर्जन र लनबहादुर महर्जनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल खो खो संघको प्राविधिक सहयोग रहने छ ।