गाडिएको अवस्थामा फेला पऱ्यो झा दम्पतीको शव

गाडिएको अवस्थामा फेला पऱ्यो झा दम्पतीको शव



महिना दिनअघि सुतिरहेको खाटसहित बेपत्ता पारिएका महोत्तरी पिपरा गाउँपालिकाका झा दम्पतीको शव जमिनमा गाडिएको अवस्थामा फेला परेको छ । गत फागुन १० गते राति बेपत्ता भएका मुसाफिर झा र उनकी पत्नी गीता देवी झाको शव पिपरा–२ स्थित बाटोछेउमा गाडिएको अवस्थामा फेला परेको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार घरभन्दा झण्डै साढे ३ किलोमिटर टाढाको दूरीमा ठूलो खाल्डो खनी शव पुरिएको अवस्थामा फेला परेको हो ।

बताइएअनुसार होलीका लागि घर पोत्न माटो लिन गएका स्थानीयवासीले माटोले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले माटो पन्छाएर खोजतलास गर्दा दुई वटा बोरामा प्याक गरिएका शव फेलापरेको थियो ।

दुवै शवको हड्डी मात्र बाँकी रहेकाले पहिचानमा कठिनाइ भए पनि खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको प्रहरीले जनाएको छ ।

झा दम्पतीको अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले केही दिनअघि नै चार जनालाई पक्राउ गरेको छ । पिपरा गाउँपालिका-५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा-६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् । झाको परिवारले उनीहरुविरुद्ध अपहरण गरी शरीर बन्धकसम्बन्धी मुद्दामा चैत ५ गते किटानी जाहेरी दिएको थियो ।