ताप्लेजुङको तिरिङ्गेमा काकाससुरा र बुहारी पनि मृत अवस्थामा
कन्चनपुरको बेलौरी नगरपालिका–४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट ६ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका श्रीमान् मोली रानाले जानकारी गराएका हुन् ।
घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी यही चैत ८ गते इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको रानाले बताए । भारतीय प्रहरीले रानाको हत्याको आशङ्कामा उत्तरप्रदेश जिल्ला लखिमपुर थाना सम्पूर्णानगर ग्राम गोविन्दनगरका अन्दाजी ३० वर्षीय विक्रम कुमारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । भागरती केही दिनदेखि भारतीय नागरिक विक्रमको सम्पर्कमा रहेको बताइएको छ ।
मृत्यु प्रकरणबारे भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काको भनाइ छ । मृतक महिलाका श्रीमानको भनाइअनुसार घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो लाग्छ । भारतीय प्रहरीको दबाबमा राना परिवारले शव बुझेर ल्याएका छन् । मृतकका बुबा सुब्बा रानाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाहीको माग गरेका छन् ।
यता, ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेमा दुई जना मृत अवस्थामा भेटिएका छन् । नाताले काकाससुरा र बुहारी छुट्टाछुट्टै स्थान तथा समयमा मृत अवस्थामा भेटिएका हुन् ।
बुधबार दिउँसोदेखि बेपत्ता बनेकी ३६ वर्षीया बिमला बस्नेत बेलुका घाँटीमा प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा मृत भेटिएको बताइएको छ । यसैगरी आज विमलाका काका ससुरा पर्ने घनस्याम बस्नेत पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका छन् । विमलालाई बेलुका करिब ९ः०० बजे घरनजिकैको जङ्गलमा घाँटीमा डोरीले बाँधिएको र भुइँमा लतारिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।
शव फेला परेको खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । विमलाको शव जिल्ला अस्पतालमा परीक्षण भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलबाट प्रहरीको टोली फर्किएको केहिबेरमा नै विमलाका काका ससुरा पर्ने घनश्याम पनि घरनजिकैको जङ्गलमा मृतावस्थामा भेटिएको स्थानीयवासीलाई उद्धृत गर्दै राससले जनाएको छ ।
प्रतिक्रिया