घरेलु मैदानमा गोल गर्न चुक्यो नेपाली टोली

घरेलु मैदानमा गोल गर्न चुक्यो नेपाली टोली


किर्गिस्तानसँगको खेलमा गोलरहित बराबरी नतिजा


नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा किर्गिस्तानको यु-२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे । किर्गिस्तानविरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि गोल गर्नबाट चुक्न पुग्यो ।

मध्यान्तरअघि र पछिको खेलमा नेपाली खेलाडी किर्गिस्तानका खेलाडीमाथि हाबी भएका थिए । नेपाली खेलाडीले पटक पटक गोल गर्ने प्रयास भए पनि किर्गिस्तानी गोलकिपर प्रिएदकिन अर्तेमले सबै विफल पारी दिए ।

खेलको ६७औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिनले दोहरो पहेँलो कार्डसँगै मैदानबाट बाहिरिए । त्यसपछि २९ मिनेटसम्म किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहन पुग्यो । नेपाली टोलीले त्यसको पनि फाइदा उठाउन सकेन । रंगशालामा उपस्थित करिब आठ हजार खेलाडीले किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहँदा नेपाली टोलीबाट गोलको आश गरेका थिए । किर्गिस्तानी गोलकिपर अर्तेमले नेपाली दर्शकको आशा निराशामा परिणत गरिदिए ।

नेपाली टोली खेलको शुरुआतदेखि नै गोल गर्ने राम्रो राम्रो मौका पाएको थियो । खेलको चौथो मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेको प्रयास बिफल भयो । यस्तै खेलको आठौँ मिनेटमा गरेको प्रयास पनि सफल हुन सकेन । यसैगरी मध्यान्तर अघि खेलको १०औँ, १४औँ, २२औँ, २९औँ, ३४औँ र ४३औँ मिनेटमा पनि नेपाली टोलीबाट गोलको प्रयास भएका थिए ।

मध्यान्तरपछिको खेलमा पनि नेपाली टोलीको प्रदर्शन त्यसअघिकै खेलको जस्तो रह्यो । खेलको ५०औँ मिनेटमा अनन्त तामाङले हेडमार्फत गोलको प्रयास गरेका थिए । उक्त प्रयासलाई किर्गिस्तानी गोलकिपर अर्तेमले असफल पारिदिए । यस्तै खेलको ५६औँ मिनेटमा अञ्जन विष्टले उत्कृष्ट प्रयास गरेका थिए । किर्गिस्तानका गोलकिपर अर्तेमले नेपाली दर्शकलाई निराश पारे । विष्ट खेलको ६३औँ मिनेटमा पनि गोल गर्नबाट चुके । खेलको ७१औँ मिनेटमा नेपाल आत्मघाती गोलबाट जोगिएको थियो । गोलकिपर किरण चेम्जोङले आत्मघाती गोलबाट मुश्किलले जोगाएका हुन्।

यसका बाबजुद नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिए । लामो समयको अन्तरालपछि प्रतियोगिता खेल्न पाएको भन्दै उनले खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए । नेपाली टोलीको ध्यान अब बंगलादेशसितको खेलमा हुने भन्दै महर्जनले जसरी पनि फाइनलमा पुग्ने लक्ष्यका साथ शनिबारको खेल खेल्ने बताए । किर्गिस्तानसितको खेलमा धेरै मौका पाए पनि नेपाली टोलीको फरवार्ड चुक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपरेको उनको तर्क थियो ।

नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । उक्त खेलमा बराबरी खेलेमा वा विजयी भएमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित भएमा गोल अन्तरका आधारमा नेपाल र किर्गिस्तानको फाइनल पुग्ने कुराको टुङ्गो लाग्ने छ । यसअघि उद्घाटन खेलमा बंगलादेशले किर्गिस्ताको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । बंगलादेशले तीन अङ्क जोडेको छ भने आजको खेल गोलरहित बराबरी खेलेपछि नेपाल र किर्गिस्तानले एक एक अङ्क प्राप्त गरेका छन् ।