स्वास्थ्य मन्त्रालयको अपिल- ‘घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ’

स्वास्थ्य मन्त्रालयको अपिल- ‘घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ’


अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह

मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले सबैलाई अपिल गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गरेका छन् ।

अत्यावश्यक नभई सवारी साधान नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायुप्रदूषणका कारणलाई कम गर्न उनले आग्रह गरेका छन् । अपिलमा घरबाहिरको खुलास्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजान भनिएको छ ।

‘घरबाहिर खुलास्थानमा नबसौ, नखेलौँ, मर्निङ वाकमामा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ’, उनले जारी गरेको अपिलमा भनिएको छ, ‘घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ । बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ ।’

यस्तै, उनले फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गरेका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले धुलो धुँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माणकार्य केही दिनलाई स्थगन गर्न पनि आह्वान गरेका छन् ।