नेपालका ‘हिमचितुवा’ घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि

नेपालका ‘हिमचितुवा’ घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि


युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि चमेका छन् । जापानको टोकियो शहरमा आज सम्पन्न सो महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका हुन् ।

विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल कम उमेरका सो प्रतियोगिता हात पार्ने पहिलो नेपाली युवा खेलाडी बन्ने सौभाग्यसमेत प्राप्त गरेका छन् ।

दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युव च्यानलमार्फत विश्वभर प्रत्यक्ष हेरिएको थियो । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए । महोत्सवको उपाधि हात पारेपछि अबिरलले सामाजिक सञ्जालमा भनेका छन्, “यो नेपालीका लागि ऐतिहासिक विजय हो । के वान फेस्टिबल २०२१’ को उपाधि हात पार्नु मेरा लागि आफैँमा प्रतिष्ठाका विषय हो । म मेरा पिता देवकुमारलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका उनले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’समेत भएका थिए । एक्काइस वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उहाँहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका छन् ।

खेलाडी अबिरलले कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन् । महोत्सवलाई जापानसहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने जनाइएको छ ।

वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिनुभएको जानकारीअनुसार अबिरलले हालसम्म १६ भन्दाबढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन् । तीमध्ये अधिकांश खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएका छन् । युवा बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए । रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनः दुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए ।

यसैगरी उनँले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्जकारी सो भिडन्तमा उनँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए ।