कोभिड-१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज)आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो । कोभिडविरुद्धको लडाइँमा नेपाल र चीनका नीति समान रहेको धारणा राख्दै प्रधानमन्त्रीले जनताको जीवन छ भने देश पनि चल्छ भन्ने मान्यता नेपाल अडिग रहेको उल्लेख गर्नुभयो ।
चीनबाट प्राप्त आठ लाख डोज खोपले नेपालको खोप कार्यक्रमलाई अगाडि बढाउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले खोपको प्रभावकारितालाई लिएर कतिपयले अवरोध सिर्जना गर्न सक्ने भएकाले उनीहरुको आशंकालाई मेट्न जानकारी दिनुपर्ने धारणा राखे । भारतबाट प्राप्त खोपलाई मिश्रण नगरिकन दुवै डोज खोप लगाइने स्पष्ट पार्दै प्रधानमन्त्रीले दुवै छिमेकी मुलुकबाट प्राप्त खोपहरु प्रभावकारी रहेको समेत बताउनुभयो । खोपका लागि चीन सरकारलाई धन्यवाद दिँदै उहाँले प्राकृतिक विपत्तिमा दुवै मुलुक मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
खोपको औपचारिक हस्तान्तरणको लागि आयोजित उक्त कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले नेपालको विकासमा मित्रराष्ट्र चीन सँधै उभिने बताउँदै चीनको पञ्चवर्षिय योजनामा मित्रराष्ट्रको हित पनि समावेश भएको बताउनुभयो ।
प्रतिक्रिया