देशभरका शिक्षण संस्था चार दिनका लागि बन्द हुने भएको छ । पछिल्ला दिनमा बढ्दै गएको वायु प्रदूषणका कारण स्वास्थ्यमा जोखिम बढेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । यस निर्णयअनुसार मंगलबार (१४ चैत) देखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द हुनेछ ।
वायुमण्डलमा देखिएको मौसमप्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् । ‘लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको हो’, उनले बैठकमा भने ।
शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा. सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा. हरि लम्साल, शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालसहितको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विद्यालय बन्दका लागि परामर्श गरेका थिए भने प्रधानमन्त्रीले यसबारे सार्वजनिक अभिव्यक्ति पनि दिएका थिए ।
प्रतिक्रिया