- सनत आचार्य
महानगरीय प्रहरी परिसर ललितपुरले वैदेशिक रोजगारमा पठाइदिने भन्दै सामाजिक संजालमार्फत सार्वजनिक सूचना प्रसारण गरी ठगी गर्ने ठूलो गिरोहको पर्दाफास गरेको छ ।
प्रहरीले ललितपुर महानगरपालिका-१९ कुमारीपाटीस्थित ‘हाई सक्सेस म्यानेजमेण्ट ग्रुप प्रा.लि.’ नामक कार्यालय सञ्चालन गर्ने दाङ लमही नगरपालिका-५ का माइकलसिंह बस्नेत, निजकै भाइ सरोज अधिकारी भन्ने शिशिर बस्नेत, रुपन्देही कोटहिमाई-२ का सुमितकुमार उपाध्याय र धादिङका समीर तामाङ ठगीमा संलग्न रहेको जनाएको छ ।
उल्लिखित व्यक्तिहरूले रोजगारीका लागि आकर्षक मानिने सिंगापुर पोर्चुगल, हङ्गेरीलगायतका देशमा सहुलियत मूल्यमा वैदेशिक रोजगारको लागि पठाइन्छ भनी फेसबुकमार्फत विज्ञापन गर्ने र ती देशहरूमा जान इच्छुक व्यक्तिले पाँच हजार रुपैयाँसहित फारम भर्न आउन भनी प्रचारप्रसार गरी सर्वसाधरणलाई ठगी गर्दै हिँडेको प्रहरी परिसर जावलाखेलको प्रमुख एसएसपी किरण बज्राचार्यले बताउनुभयो ।
यसरी फेसबुकमार्फत प्रचारप्रसार गरी सर्वसाधारणलाई विभिन्न आश्वासन दिई प्रलोभनमा पार्ने गरेको एसएसपी बज्राचार्यले बताउनुभयो ।

हाल वैदेशिक रोजगारको सिलसिलामा साइप्रसमा रहेका सफल गुरुङको दस्तखत कीर्ते गरी निजको नामबाट नविल बैंक कुमारीपाटी शाखामा खाता खोली विभिन्न स्थानमा बस्ने सर्वसाधारण व्यक्तिहरूलाई उक्त खातामा रकम जम्मा गर्न लगाइ हालसम्म ७२ लाख ३२ हजार ६६५ रुपियाँ अभियुक्तहरूले ठगी गरेको उहाँले जानकारी दिनुभयो ।
एसएसपी बज्राचार्यका अनुसार पीडितहरूको जाहेरीका आधारमा संलग्न उल्लिखित व्यक्तिमध्ये आफूलाई सरोज अधिकारी भन्ने शिशिर बस्नेतलाई पक्राउ गरी ठगी मुद्दामा जिल्ला अदालत ललितपुरबाट म्याद थप भई अनुसन्धान जारी रहेको छ ।
यसअघि माइकलसिंह बस्नेत र सुमितकुमार उपाध्यायविरुद्ध काठमाडौं र ललितपुर जिल्लामा ठगी मुद्दामा सम्बन्धित अदालतबाट धरौटी रकम बुझाएर तारेखमा छुटी हालसम्म फरार रहेका बताइएको छ । यसप्रकारको ठगी गर्ने गिरोह ठुलो हुन सक्ने र आफूहरूले उक्त गिरोहको खोजी गम्भीरताका साग गरिरहेको पनि एसएसपी बज्राचार्यको भनाइ छ ।
उल्लिखित व्यक्तिहरूबाट अरु कोही ठगिएको भए महानगरीय प्रहरी परिसर ललितपुरमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया