- आरपी उपाध्याय, नवलपरासी
गण्डकी प्रदेश पुर्वी नवलपरासी त्रिवेणी धामदेखि प्रदेश न. ३ मा पर्ने वाल्मीकी आश्रम आवतजावत गर्न नारायणी नदीमा निर्माण भइहेको झोलुङ्गे पुलको निर्माण कार्य गतिहीन अवस्थामा रहेको छ । पाँच वर्षपूर्व झोलुङ्गे पुल निर्माण गर्ने सम्झौता भए पनि ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर समयावधि थप गर्दै आएको छ ।
गीता, रुविना, मना, जे.भी. दमौलीले २०७० साल जेष्ठ महिनामा सम्झौता गरेको उक्त झोलुङ्गे पुल निर्माण कार्य हालको समयमा ६० प्रतिशत मात्र निर्माण भएको छ । हालकै गतिमा काम भए निर्माण पूरा हुन अझै कति समय लाग्छ– यसै भन्न सकिन्न । यथार्थ यस्तो रहे पनि बाँकी कार्य आउँदो ०७८ मङ्सिर महिनाभित्र पूरा हुने कम्पनीका प्रतिनिधि राम शर्माले दाबी गरेका छन् ।
सो पुलको लम्बाइ त्रिवेणीधामदेखि नारायणी नदीपारि चितवन राष्ट्रिय निकुञ्ज किनारसम्म ४६९ मिटर लम्बाइ रहने बताइएको छ । राष्ट्रिय स्तरमै चासोको विषय बनेको झोलुङ्गे पुल निर्माणले अन्तर्राष्ट्रिय स्तरमा चर्चामा रहेको बाल्मिकी आश्रम र गजेन्द्रमोक्ष धामलाई समेत थप पहिचान दिलाउने विश्वास गरिएको छ ।
सरकारी निकायको फितलो अनुगमनका कारण पुल निर्माण कार्यमा ढिलाइ भएको अनुमान जो–कसैले पनि लगाउन सक्छ । बहुचर्चित झोलुङ्गे पुल निर्माण कार्य गतिहीन रूपमा अगाडि बढिरहेको अवस्थामा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले हालै निर्माण कार्यको निरीक्षण गरेका थिए । सो अवसरमा वरिष्ठ उपाध्यक्ष ढकालले भारतभूमिको बाटो भइ नेपाल भूमिमा रहेको बाल्मिकी आश्रम जानुपर्ने विडम्बनापूर्ण बाध्यता पुल निर्माणपछि अन्त्य हुने उल्लेख गर्दै नेपालबाट नेपालकै तीर्थस्थलमा जान सहज हुने भएकोले पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने धारणा राखे । धार्मिक धरोहरको विकासबाट आन्तरिक र बाह्य पर्यटक नेपाल भित्रिने विश्वास पनि ढकालले व्यक्त गरे ।
सो अवसरमा उद्योग वाणिज्य महासङ्घ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारी, पूर्वअध्यक्ष वीरेन्द्रकुमार अग्रहरिको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया