जीवनकालमै राज्यले सम्मान दर्शाउँदा वाङ्मय शताब्दी पुरुष हर्षित

जीवनकालमै राज्यले सम्मान दर्शाउँदा वाङ्मय शताब्दी पुरुष हर्षित


राष्ट्रपतिको निर्देशनमा शिक्षामन्त्री जोशी निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ मंगलबार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकोे निजी निवासमा पुग्नुभएको छ । शिक्षामन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीले आफूलाई इतिहासका धरोहर जोशीको स्वास्थ्य अवस्था, उहाँका चाहना, समस्या र आवश्यकताबारे बुझेर आफूलाई जानकारी गराउन निर्देशन गर्नुभएको बताउनुभयो ।

आफूले शताब्दी पुरुषसमक्ष ‘जीवित इतिहास तपाईंका नाममा सरकारले सत्यमोहन जोशी सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको छ, मुलुकको जुनसुकै स्थानमा तपाईं जहाँ विद्यालय खोलियोस् भन्ने चाहानुहुन्छ हामी त्यहीँ स्थानमा विद्यालय खोल्ने भएका छौँ । घनाबस्ती भएको स्थान जहाँ विद्यालयको अति आवश्यकता छ त्यहाँ विद्यालय खुल्नेछ’ भन्ने अभिव्यक्ति राखेको मन्त्री श्रेष्ठको भनाइ छ । जोशीको नामका खोलिने सो विद्यालय दरबार हाइस्कुल जस्तो हुने श्रेष्ठले जानकारी गराउनुभयो । शिक्षामन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि बताउनुभयो । जोशीको रेखदेख गर्न दुई कुरुवा सरकारले दिने घोषणा गरिसकेको उहाँको भनाइ थियो ।

राष्ट्रपतिले आफूलाई सम्झेर भेट्न पठाएकोमा शताब्दी पुरुष जोशीले हर्ष प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुकमा उत्पादन भएका जति पनि लेखक, कलाकारहरू छन् र थिए, तीमध्ये लामो आयू बाँँच्ने म नै हुँ । राष्ट्रपतिले आफू जीवित छँदै आफ्नो नामको हुलाक टिकट छाप्न टाँचा लगाउँदा ज्यादै खुशी लाग्यो । मुलुकको पिछडिएको स्थान जहाँ बालबालिका अध्ययन गर्ने अवसरबाट वञ्चित भएका छन् त्यहाँ विद्यालय खोलियोस् भन्ने म चाहान्छु ।’ ललितपुर महानगरपालिकाले केही समयअघि आफ्नो नाममा चाँदी सिक्का निकालेर प्रयोगमा ल्याउँदा पनि ज्यादै खुशी लागेको जोशीले बताउनुभयो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकको महान व्यक्तित्व जोशीको नाममा आफूहरूले ललितपुरको पुल्चोक हुँदै मङ्गलबजार अनि सुन्धारा र त्यसपछि ग्वार्को जाने सडकलाई सत्यमोहन जोशी मार्ग नामकरण गरिसकेको बताउनुभयो । कार्यक्रममा जोशीको नामका खोलिने विद्यालयमा गुणस्तरीय शिक्षकका साथै गुणस्तरीय शिक्षा प्रदान गरिने बताइयो ।

शताब्दी पुरुष जोशी आउँदो वैशाख ३० गतेदेखि १०१ वर्ष पूरा भएर १०२ वर्षमा प्रवेश गर्नुहुनेछ ।