- डम्बर निदाल, डडेल्धुरा
घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लाको अमरगढी नगरपालिका–७ ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर परिसरभित्र रहेको सामुदायिक वनकोे फेदमा माटो खन्ने क्रममा लामो सुरुङ बनेको र सोही सुरुङभित्र प्रवेश गरेर माटो खन्दा ढिस्को खसेर पुरिँदा ऐरीको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दका अनुसार पुरिएको स्थानबाट उनको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले निकालेको छ ।
सोही ढिस्कोले पुरिँदा घाइते भएका ३० वर्षीया शारदा ऐरी र २० वर्षीया कल्पना बिककोे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नयाँ वर्षमा विसु पर्व मनाउन सुदूरपश्चिमेलीहरूको प्रचलनअनुसार घर पोत्न रातो माटो खन्ने गरिन्छ ।
प्रतिक्रिया