उपत्यकाका करिडोर सडक व्यवस्थापनका लागि ट्राफिक टोली परिचालन हुने

उपत्यकाका करिडोर सडक व्यवस्थापनका लागि ट्राफिक टोली परिचालन हुने


  • सनत आचार्य

काठमाण्डौ उपत्यकाको करिडोर क्षेत्रमा अव्यवस्थित रूपमा सवारीसाधनहरू पार्किङ गरी आवागमनलाई समेत प्रभाव पार्ने कार्य भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ ।

महाशाखाले आज (१८ चैत) एक कार्यक्रमका बीच करिडोर सडक व्यवस्थापन टोली परिचालन गरेको जानकारी दिएको छ ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले उपत्यकाका मुल सडकहरूमा हुने सवारी चाप कम गर्न आफुहरूको निरन्तर समन्वय एवम् पहलमा निर्माण भइ संचालनमा रहेका विष्णुमती, वाग्मती, धोविखोला र मनोहरा करिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउनका लागि यो योजना लागु गरेको जानकारी दिनुभयो ।

एसएसपी भट्टराईले आज (बुधवार) देखि करिडोरलाई चौबिस खण्डमा विभाजित गरी कोरिडोर क्लियरेन्सको लागि १७ टोली गठन गरी परिचालन गरेको पनि जानकारी दिनुभयो ।

त्यस्तै टोलीको पहिचानको लागि ‘Traffic Police – CMT’ लेखिएको प्लोरोसेण्ट ज्याकेट लगाएर करिडोर क्षेत्रको सडकमा मोटरसाइकलबाट निरन्तर अनुगमन गरिने पनि उहाँले बताउनुभयो ।

महाशाखाले करिडोर सडकहरूमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अब्यवस्थित रूपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।

यो टिमले आम सवारीचालकहरूलाई आफ्नो गन्तब्यसम्म पुग्नका लागि छोटो र सहज तरिकाले करिडोर सडक प्रयोग गर्न प्रोत्साहन समेत गर्नेछ । मुख्य सडकको चोक जंक्सनको क्युमा बस्नुपर्ने विकल्पको रूपमा करिडोर सडक प्रयोग गरी समय तथा इन्धनको समेत बचत हुने अपेक्षा लिएको एसएसपी भट्टराईले बताउनुभयो ।

महाशाखाद्धारा खटाइएको टिमले आफ्नो जिम्मेवार इलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाइ कोरिडोर सडक सुचारू गर्ने, पुल तथा जंक्सनको क्रसिङमा हुने चाप अर्थात् क्यूलाई व्यवस्थापन गर्ने र जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी करिडोर सडक प्रयोग गर्ने बानीको विकास गर्न सहयोग गर्ने जनाइएको छ ।

महाशाखाले शुरुवात गरेको यस कार्यको जनस्तरमा स्वागत गरिएको छ । नारायणटार जोरपाटी बस्ने आदित पाठकले महाशाखाले गरेको यो कार्यले समयमै गन्तव्यमा पुग्न सक्ने सम्भावना बढाएको र सवारी चालकहरूले करिडोरको प्रयोग गरे मुल सडकमा समेत सवारी आवागमन सहज हुने बताए ।

महाराजगञ्जका दीपकसिंह महर्जनले पनि पछिल्लो चरणमा अधिकांस नीजि सवारी चालकहरुले करिडोरको प्रयोग गर्ने प्रचलन बढेको र यसलाई व्यवस्थित बनाउन सके करिडोरको प्रभावकारिता अझ बढ्ने धारणा राखे ।