रहेनन् महान बक्सर मार्वलस हेगलर

रहेनन् महान बक्सर मार्वलस हेगलर



बक्सिङ खेलको इतिहासमा महान खेलाडीको संज्ञा पाएका बक्सिङ खेलाडी मार्वलस मर्विन हेगलरको निधन भएको छ । मर्विनको ६६ वर्षको उमेरमा निधन भएको हो । उनको निधनको बारेमा पत्नी केनले फेसबुकमार्फत जानकारी गराएकी हुन् ।

फेसबुकमा जानकारी गराउने क्रममा केनले लेखेकी छिन्- ‘मलाई माफ गर्नुहोस्, म आज एउटा दुःखद घटनाको बारेमा जानकारी गराउँदै छु, मेरो पति मार्वलस मर्विसको निधन भएको छ, मर्विसको निधन उनको आफ्नै निवास हैम्पसरमा भएको हो, यस्तो मुस्किल र दुःखको समयमा हाम्रो परिवार तपाईंहरूको समवेदनाको लागि अनुरोध गर्दछु ।’

मर्विन हेगलरलाई विश्वमा ‘मार्वलस’को नामले परिचित थिए । उनले सन् १९७३ देखि १९८७ सम्म सक्रिय रूपमा बक्सिङ रिङमा प्रतिस्पर्धा गरेका थिए । कीर्तिमानी मर्विसले आफ्नो खेल जीवनमा ६५ वटा व्यावसायिक भीडन्त गरेका थिए । जसमा उनले आफ्नो प्रतिद्वन्द्वीलाई ५२ पटक नकआउट गरेर कीर्तिमान बनाएका थिए । ६२ भीडन्तमा जीत हासिल गरेका मर्विस तीनवटा भीडन्तमा भने पराजित भएका थिए ।

मार्वलसको सबैभन्दा चर्चित भीडन्तको रुपमा सन १९८५ मा सिजर्स प्यालेसमा भएको थोमस हन्सविरुद्धको खेललाई लिइन्छ । आठ मिनेट र केही सेकेन्डसम्म चलेको यो भीडन्तमा उनले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वीलाई नकआउट गर्न सफल भएका थिए । उनको यो भिडन्तलाई क्लासिक भीडन्तको रूपमा पनि चर्चित छ ।

मर्विसले सन् १९८० मा वल्र्ड बक्सिङ काउन्सिल र वल्र्ड बक्सिङ एसोसियसनको मिडिलवेटको उपाधि जितेका थिए । त्यसको तीन वर्ष पछि १९८३ मा इन्टरनेशनल बक्सिङ फेडेरेशनको उपाधिमाथि पनि कब्जा जमाएका थिए ।