थ्री नेसन कपमा जित हासिल भएपश्चात नेपाली राष्ट्रिय फुटबल खेलाडीहरूले दशरथ रङ्गशालामा ‘ओली बा, आई लभ यू’को नारा लगाएका थिए । त्यतिबेला राष्ट्रिय फुटबल खेलाडीहरूले ‘ओली बा, आई लभ यू’ को नारा किन लगाए होलान् भन्ने जिज्ञासा सबैमा थियो । त्यसको रहस्य भने अहिले खुलेको छ ।
विनाकारण तट खेलाडीले ‘ओली बा, आई लभ यू’ को नारा लगाएनन् होला भन्ने उक्त नारा सुन्नेहरूलाई लागेकै थियो, तर त्यसबेला सो नारा सुन्नेहरू अन्योलमै थिए । जितको खुशीमा प्रधानमन्त्रीको जय–जयकार गरे होलान् भन्ने अनुमान गर्नेहरू धेरै भए ।
तर, सुनियोजित रूपमै खेलाडीलाई उक्त नारा लगाउन लगाइएको खुलासा भएको छ । एन्फाका पदाधिकारीहरूले नै खेलाडीलाई त्यसो भन्न अह्राएको स्रोतको दाबी छ ।

‘प्रधानमन्त्री ओलीको मन कमलो छ, उहाँको जय–जयकार गर्दा तिमीहरूले नगद पुरस्कार पाउँछौ’ भन्दै सम्बद्ध पदाधिकारीहरूले सुझाव दिएपछि खेलाडीहरूले पनि पुरस्कार वितरणको समयमा ‘ओली बा आइ लभ यू’ भन्ने नारा घन्काएका थिए ।
तथापि, यसबारेमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग सम्पर्क गर्दा उनले एन्फाका कुनै पनि पदाधिकारीले यस्तो कार्य गर्न खेलाडीलाई नउस्काएको जिकिर गरे । पहिलेदेखि नै दशरथ रङ्गशालाको दक्षिण प्यारापिटतर्फका दर्शकहरूले ‘ओली बा, आई लभ यू’ भनिरहेका थिए । पछि पुरस्कार वितरणको समयमा पनि मैदानमा खेलाडीहरूले जितको जोशमा यस्तै नारा लगाएको अध्यक्ष शेर्पाको दाबी छ ।
यसमा कुनै विशेष रहश्य नभएको दाबी गर्दै शेर्पाले भने– ‘आफ्ना प्रधानमन्त्रीलाई सम्मान गर्न खेलाडीहरूले ओली बा, आई अभ यू भनेका हुन् ।’ नगद पुरस्कार पाउने लोभमा खेलाडीले यस्तो कार्य नगरेको उनले प्रस्ट पारे । यो केवल प्रधानमन्त्रीको सम्मानमा भनिएको मात्रै हो, यसलाई इस्यु बनाएर विवाद गर्नुमा कुनै तुक नभएको उनको भनाइ छ ।
प्रतिक्रिया