जातीय विभेद र सहिष्णुता : एक संस्मरण

जातीय विभेद र सहिष्णुता : एक संस्मरण


  • नवीन देवकोटा

हालै काठमाडौंमा घटेको घरभाडा-प्रकरण र पङ्क्तिकारका केही भोगाइ सान्दर्भिक लागेकोले पाठकसामू केही कुरा पस्किँदै छु ।

२०४८ सालमा एक देवकोटा गाउँमा मतदान अधिकृतको रूपमा खटिँदा ‘नानी पनि देवकोटा रहेछौ, उपाध्याय पऱ्यौ कि जैसी ? हामी त जैसी’ भनी राखिएको जिज्ञासामा मैले ‘जन्मले मलाई ‘उपाध्याय’मै गन्छन्, कर्मले मेरोअगाडि तपाई उपाध्याय (जनै, धोती लगाएको), तपाईंको अगाडि म जैसी (जनै नलगाएको)’ भन्ने जवाफ दिएको थिएँ ।

पहिले यही प्रष्ट पारौँ- ‘उपाध्याय’ एउटा शैक्षिक उपाधि (Post Doctorate) हो, बाहुनको थर हैन । त्यस्तै, ‘सुब्बा’ पनि प्रशासनले दिएको पदवी हो, लिम्बू जातिको थर हैन । यी उपाधि प्राप्त गर्ने ब्राह्मण वा लिम्बूका सन्तान सबैले आफ्नो पछाडि त्यो उपाधि गुथ्नु ‘आरक्षण’वाद हो । ‘नेपाली वृहत् शब्दकोष’ले पनि यो विकृतिलाई बढावा दिएको देखिन्छ । ‘विधवाका सन्तानलाई जैसी भनिन्छ’ भन्ने धारणा गलत हो । ब्रह्मकर्मलाई पालना गरे पनि ब्राह्मण-समाजको मान्यता पालन नगर्ने व्यक्तिका सन्तानहरूलाई जैसीमा झारिन्थ्यो (उ. भागी विवाह गरेका अनुशासित ब्रह्मण जोडीका सन्तान पनि जैसी नै भए) । त्यस्तै, कुनै पूर्वजले गरेको गल्ती वा निजको असक्षमताको पीडा हाल संविधानतः ‘दलित’ वर्गले ब्यहोर्नु परिरहेको छ । सन्तानहरूले पूर्खाको सुकर्मबाट जन्मजात नाफा वा नोक्सान ब्यहोर्ने प्रथा गलत हो । जेलमा जन्मेको बच्चालाई दोषी मान्नु मानवीय अपराध हो ।

अँ, म आफ्नो कुरा गर्दै थिएँ !

म पण्डित तीलमाधव देवकोटाको पनाति । वहाँले आफ्ना छोराहरूलाई ब्रह्मकर्ममा सीमित राख्न सक्नुभएको देखिएन । मेरा बाजेले स्वअध्ययन गर्दै, बाबुको पैसा चोरेर, सय वर्षभन्दा पनि अगाडि कलकत्ताबाट ‘गाइखाने भाषा’ (English) मा मेट्रिक पास गरी फर्केर राजप्रसाद सेवामा ‘मीरसुब्बा’ सम्म हुनुभएको हो (रे !) । वहाँको नाती, म, ब्रह्मकर्ममा लठ्ठिने कुरै भएन । तैपनि ‘बा-हुन् वा हैनन्’ भनी-भनी समाजले कहिले फुर्क्याउँछ, कहिले औंला तेर्स्याउँछ ।

स्कूलेजीवनमा को-को साथीसँग एउटै रिकापीमा खाजा खाइयो, याद छैन । तर, कलेज पढ्दा मानबहादुर विश्वकर्मा गुरूबाट पनि शिक्षा लिइयो र वहाँकै अभिभावकत्वमा होस्टलमा दुई वर्ष बसियो । वहाँकै बैठकमा सिनेमा हेर्दा वहाँले दिएको पानी, चिया खाइयो; वास्ता गरिएन । त्यस समयमा म चुरोट, जाँड, रक्सी खाँदिन थिएँ । म्हः पूजाका दिन क्याम्पसप्रमुख मोहनवीर सिंह (नेवाः) गुरूको घरमा देउसी नाच्दा पसिना-पसिना भएर र खाजा खाँदा मुख सुकेर पानी माग्दा गुरूले ठूलो चियादानी ल्याएर राखिदिनुभयो । उचालेर मुखमा धारा लाएँ; गुलियो सर्बत रहेछ, टन्न पिएँ । पछि थाहा पाएँ, राँगाको चटामरीसम्म खाने बाहुनलाई गुरूले जँड्याहा पनि बनाइदिनुभएछ ! त्यो वहाँको मनशाय त थिएन नै होला, तर ‘होस्टलमा बस्नेहरू सबैले जाँड खान्छन्’ भन्ने धारणा (assumption) मा चाहिँ दोष थियो । मैले त्यो घटनालाई बसीबियाँलो गर्दा ठट्टाको रूपमा प्रस्तुत गर्ने गरेको थिएँ; दिवंगत गुरूसँग क्षमा माग्दै त्यसलाई आज सार्वजनिक गर्न बाध्य छु ! त्यसै समयमा काभ्रेको एउटा दुर्गम गाउँमा जैसीबाहुनको घरमा बास माग्न पुगियो र मेरो ब्रतबन्ध भएको छैन भन्ने थाहा भएपछि घरबेटी आफू भान्साको चौकामा र हामी तलतिर बसेर खाना खायौँ । बाहुन हुन योग्यता नपुगेकोले तब न आफूलाई ग्लानी भयो, न रिस उठ्यो । २०४५ सालमा सरकारी जागिरले इलामका दुर्गम गाउँहरू पुऱ्याउँदा ‘हामीले दिएको पानी चल्दैन होला !’ भन्दा ‘सफा छ कि छैन ?’ मात्र सोधियो ।

युरोपमा पढ्दा जसले जे पकाए त्यही खाइयो । श्री ३ ले झैँ खानेपानी नै बोकेर बेलायत जाने वा आफ्नै काकीबज्यैले सोभियत संघमा पानी पनि नखाएर अङ्गुरले प्यास मेटाए (hydration) झैँ एक-दुई वर्ष बाँच्न सम्भव नै थिएन ! अफ्रिकामा काम गर्दा संयुक्त राष्ट्र संघको क्यान्टिन व्यवस्थापनलाई ‘मुसलमानहरू नझुक्कियुन् भनेर तिमीहरू सुंगुरको मासुमा लेवल लगाउँछौ, तर गाईको मासुमा लगाउँदैनौ; हिन्दूहरूलाई अप्ठ्यारो हुन्छ नि’ भन्ने गुनासो गर्दा जातपातको घोर विरोधि त्यो संस्थाबाट कुनै प्रतिक्रिया नै पाइनँ !

आफ्नो घरटोलको एउटा समितिमा मेरी श्रीमती अध्यक्ष र एक जना सुनार भाइ पनि सदस्यमध्येमा छन् । मेरो घरमा भएको त्यो समितिको बैठकमा सर्वत खुवाउँदा केही सदस्यले अलि असजिलो मानेको, तर केही बोल्न नसकेको मैले अनुभव गरेको हुँ । समितिकै कामको क्रममा मन मिलेपछि आर्थिक रूपले सम्पन्न ती भाइले वाइन खाने प्रस्ताव गरे, मैले ‘मकहाँ बसुँ न त’ भनेँ । मेरो परिवारको अन्य सदस्यहरूको विचार गरेर उनि घरभित्र बस्न मानेनन् र साँझमा मेरो घरको चउरमा हामीले लामो समय बितायौँ । हाम्रो संविधानले उनको कदमलाई दोष दिन्छ कि दिँदैन होला ?

म सानै छँदा मेरो स्वयंपाक्य हजुरबुबाले मलाई छोइएको कारण आफैंले पकाएको खाना पनि नखानुभएको थियो । क्षत्री जातको एक मित्रकी श्रीमती वैष्णव हुनुहुन्छ । मेरो घरमा पकाएको खानेकुरा त परैको कुरा भयो, काटेर दिएको फलफूल पनि खानुहुन्न; मैले मेरो अपमान भएको मान्ने गरेको छैन । त्यस्तै, मेरो ढोकामा ‘अलख निरञ्जन !’ भन्ने व्यक्ति भिक्षा आउन ढीलो भएमा ‘आज नदिने रहेछन्’ भन्ठानेर हिँडिदिन्छ; कुनै संस्थाबाट पाएको अपाङ्गताको प्रमाणपत्र देखाएर आर्थिक सहायता माग्ने व्यक्ति झैँ ढुकिरहँदैन ! त्यस्तै, उधारो दिने कुरा पसलेको सामाजिक व्यवहार हो, पाउनेको अधिकार होइन । त्यस्तै, हाम्रो समाजमा फूल रोप्ने र तिनले फूलाएको फूल ‘चोरेर भगवानलाई घुस खुवाउने’ हरूका बीच पनि द्वन्द्व कायमै छ; उजुरी कतै लाग्दैन !

प्रस्तुत घटनाक्रममार्फत मैले तीन कुरा व्यक्त गर्न चाहेको हुँ, पहिलो- विदेशीसामु आफ्नो संस्कृतिलाई तिलान्जली दिने, तर समाजमा छुवाछुत कायम गर्ने व्यक्तिहरू पाखण्डी हुन् । दोश्रो- घटनाक्रमलाई मनन गर्दै परिवर्तनका दिशातिर कदम बढाउनेहरू प्रगतिशील हुन् । र तेश्रो- आफ्नो अधिकारको रक्षा गर्न अरूको अधिकारको वास्ता नगर्नेहरू अतिवादी हुन् । यो परिप्रेक्षमा सरस्वती प्रधान र रूपा सुनारबीचको घरभाडा घटनालाई नियाल्दै आफ्नो धारणा यहाँ राखेको छु ।

पहिलो, यो घटनाको कानूनी पाटो –

संविधानले अधिकार सुरक्षित गरेको छ; जातको आधारमा भेदभाव गर्न पाइँदैन; अनुसन्धान हुनुपर्छ । सुनारले (प्रधानको स्वीकृतिविना) रेकर्ड गरेको वार्तालापमा ‘हजुरमाँ’को कारणले डेरा नदिएको बुझिन्छ; ‘हजुरमाँ’लाई आरोप नलगाई सरस्वती प्रधानलाई आरोपित बनाउनु न्यायसंगत छैन । परिवारको कुनै एक सदस्यले जातपातलाई मान्दा सम्पूर्ण परिवार नै दोषी हुनुपर्ने हो ? यसले ‘गलत काम गर्नेका सन्तान पनि दोषी हुन्’ भन्ने धारणालाई पुष्टि गर्छ कि गर्दैन ? गत १४ गतेको ‘हिमालखबर’मा विद्यानाथ कोइरालाले हजुरमाँलाई सम्झाउने काम सरस्वतीको हो भनेको पाएँ । हजुरमाँले सम्झिन नचाहेमा सरस्वतीले जेल बस्नुपर्ने हो ? प्राज्ञ विद्यानाथ कोइरालाका कुनै परिवारजनले कुनै अपराध गरे उनि आफैंले त्यो दोष स्वीकार्नुपर्ने हो र ? प्राज्ञिक व्यक्तिबाट यस्तो आशय व्यक्त हुनु सही मान्न सकिन्न ।

निर्णय गर्ने कुनै कर्मचारीमाथि अनुसन्धान शुरू भए पनि आफूविरुद्ध मुद्दा दर्ता नहुन्जेल निज आफ्नो पदमा कार्यरत नै रहन्छ । आफ्नोविरुद्ध प्रमाणहरू नष्ट गर्न सक्ने अवस्था रहे निजलाई सो पदबाट निलम्बन गरी तथा भाग्न सक्ने अवस्था रहे थुनामा राखेर अनुसन्धान गरिन्छ । सरस्वती प्रधानले के प्रमाण नष्ट गर्ने ? (किन) भागेर जाने ? थुनामै राखेर अनुसन्धान गर्नुपर्ने ठानिएमा कसको कारणले डेरा नदिइएको हो भनी प्रधानपरिवारका सबै सदस्यलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्थ्यो र जो दोषी हो उसमाथि मुद्दा चलाइनु पर्थ्यो । अन्य सदस्य दोषी देखिएमा कानूनी रूपमा सरस्वती प्रधानले मानहानीको दाबी गर्न पाउलिन्; तर, त्यसले समाजलाई स्थिरतातर्फ लैजाँदैन ।

दोश्रो, यो घटनाको सामाजिक पाटो –

यो घरभाडा घटनाको सन्दर्भमा यही असार १५ गतेको Lokantar online मा गिरबहादुर सुनारले माथिल्ला जातबाट ‘दलित’माथि हुने अन्यायका सन्दर्भमा मनुस्मृतिसम्म केलाएका छन् । मनुकै कुरा गरौँ, मनुको ‘ब्राह्मण’भित्र अहिलेका धेरै बाहुनहरू अटाउँदैनन् (यसर्थः जैसी त ब्राह्मण नै हैनन्) र मनुको ‘शुद्र’भित्र आजका सचेत ‘दलित’लाई राख्ने दुष्टता कसैले गर्ने कुरा आउँदैन । अर्को यथार्थ- मनुका समयका ‘शुद्र’लाई हाम्रै प्रगतिशील समाजले आज ‘दलित’ वर्गमा परिणत गरेको हो, कुनै अलौकिक शक्तिले होइन । यसै विषयमा वार्तालाप हुँदा ‘शुद्र’देखि ‘दलित’सम्मको यात्रामा राजा महेन्द्रले मन्त्री हिरालाल विश्वकर्मामार्फत दलितहरूको थर पनि गोत्रको आधारमा घिमिरे, लामिछाने, देवकोटा आदि लेख्न शुरू गराएको घटना गीतकार चूडामणी देवकोटाले स्मरण गर्नुभयो ।

जातीय उत्पिडनको प्रसङ्ग उठ्नासाथ बाहुन, क्षत्रीलाई आक्षेपको केन्द्रबिन्दु बनाइनु हाम्रो समाजको कमजोरी हो । सरस्वती-रूपा घरभाडा घटनालाई लिएर माथि उल्लिखित अनलाइनमा सुनारले मनुस्मृतिलाई खोतल्नुलाई जातीय विभेदको रेखालाई मेटाउने हैन गाढा बनाउने प्रयासको रूपमा लिन सकिन्छ । यसअनुसार, मनुले ‘शुद्र’भित्रको भेदलाई वास्ता नगरेकाले ‘दलित’ पक्षधरहरूले पनि सो वर्गभित्रै ‘माथिल्लो’ जातले ‘तल्लो’लाई दिने उत्पिडनलाई विवादको विषय नबनाएको मान्नुपर्ने हुन्छ । दलित शब्द सापेक्षित हो । ‘दलित’ वर्गभित्र माथिल्लो जातको व्यक्तिले तल्लो जातको व्यक्तिमाथि गरेको कुव्यवहार पनि अरू वर्गले ‘दलित’ वर्गलाई गरेको कुव्यवहार जति नै गलत छ । त्यसैले, हाम्रो संविधानले निश्चित जातजातिलाई ‘दलित’ भनेर वर्गीकरण गरेको विषयमा प्रश्न गर्न सकिन्छ ।

यो घरभाडा घटनाले सामाजिक संजालमा आरक्षणमार्फत हुने जातीय विभेदलाई पनि विवादमा तानेको छ । असार १४ गतेको ‘लोकान्तर’मा ओमप्रकाश सुनारको लेखको अंश, ‘…शूद्र (दलित) ले पुराण, वेद पढ्न खोज्दा जिब्रो काटियो । शिक्षाबाट वञ्चित गरियो…’ भन्ने रहेको छ । हो, शिक्षा नै धेरै समस्याको समाधानको माध्यम हो । शिक्षित हुनबाट कोही बञ्चित हुन हुँदैन । केही दशक अघिसम्म वेदविद्याश्रममा वेदादि पढ्नबाट धेरै जाति बञ्चित थिए । तर, आधुनिक शिक्षा दिन त आजका दुई-तीन पुस्ता अगाडिदेखि नै पञ्चायती व्यवस्था पनि कम्मर कसेर लागिपरेको थियो । र, देश त आधुनिक शिक्षा हासिल गरेका सबै जातका विज्ञहरूले नै चलाइरहेका छन्, वेद पढ्नेहरूले हैन । सरकारी सेवा कसैलाई जागिर खुवाउने थलो हैन; सक्षम व्यक्तिहरूको नेतृत्वले वैदेशिक समाजसँग प्रतिष्पर्धा गर्दै आफ्नो समाजको विकास गर्ने थलो हो । शिक्षामा आरक्षण दिएपछि सरकारी सेवामा छिर्न सक्नु वा नसक्नु व्यक्तिगत क्षमताको कुरा हो । आजको युगमा सरकारी सेवामा जान नसक्ने बाहुनहरूले बगरे पेशा अपनाएर भए पनि बाँचेकै छन् । हो, नीति निर्माणस्थल (संसद्) मा सबैको पहुँच पुऱ्याउनु राज्यको दायित्व हो ।

सामाजिक समस्याहरू अल्झेका धागोका गुजुल्टोजस्तो हो; फुकाउन छेउबाटै शुरू गर्ने हो; बीचबाट शुरू गरे चुँडिएका धागोका टुक्राहरू मात्र हात लाग्ने हुन् । विभेद सन्दर्भमा रूपा सुनारको उद्देश्य संवैधानिक अधिकारकै होला (प्रचारमा आउने होइन होला), तर उनले अपनाएको भन्दा फरक तरिकाबाट पनि समाजलाई परिवर्तनमुखी बनाउन सकिन्छ । पृथ्वीनारायण शाहलाई तातो भातको उदाहरण दिएर रणनीति सिकाउने महिला रूपा सुनारभन्दा बढी पढेलेखेकी थिइन् र ?

फौजदारी र देवानी मुद्दाका परिप्रेक्ष्य बेग्लाबेग्लै हुन्छन् । मनुस्मृतिलाई जातीय उत्पीडनको कोषेढुङ्गा मानेर हाल ‘दलित’ र गैरदलितबीच लक्ष्मण-रेखा कोर्नेहरूले जातीय वर्गीकरण मनुको कल्पना हैन, उनको सामाजिक अध्ययनको निचोड थियो भन्ने बुझ्नु पर्दछ । उनको सामाजिक ढाँचाभित्र तत्कालीन समाजका कस्ता चरित्रका व्यक्तिहरूलाई कुन वर्गमा किन राखियो भनेर अध्ययन पनि गर्नुपर्ने हुन्छ । हाल आएर यो ढाँचा गलत देखिने कुरा मैले शुरूमै राखिसकेको छु ।

नदीमा बनाइएको बाँधले नदीको पानीको अस्तित्वलाई कहिले पनि समान दृष्टिले हेर्न दिँदैनः त्यसको माथि कति र तल कति पानी छ भन्ने हिसाब गराइरहन्छ । जता भए पनि पानी त पानी नै हो भनेर जसले जति व्याख्या गरे पनि बाँध माथि र तलका पानीको अस्तित्व र मूल्य फरक हुन्छन् । साथै, त्यो बाँधलाई कायम राख्न उर्जा खर्च गरेर नदीलाई आवधिक रूपमा सफा गरिरहनु पनि पर्छ । त्यसैगरी, जातीय विभेदको रेखा (संविधानतः ‘दलित’) जबसम्म रहन्छ त्यसले कुन जात कता छ भनेर जनाउ दिइरहन्छ । कानूनमा गाढा हुँदै गएपनि आधुनिक समाजमा यो रेखा धमिलिइँदै गइरहेकै छ । यो रेखालाई गिजल्दै यसको डोब गाढा बनाउँदै जानु भन्दा इरेजर चलाएर अझै धमिलो बनाउने तर्फ विज्ञ र अगुवाहरू लाग्नु समाजको हितमा हुनेछ ।