सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्नमा कांग्रेसको संस्थापनइतर पक्ष

सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्नमा कांग्रेसको संस्थापनइतर पक्ष



५३ जिल्लाको सदस्यता विवाद टुङ्गिएको दाबी

नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरूबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा शुक्रबार छलफल गरेका छन् ।

बैठकमा राष्ट्रिय राजनीति र कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीको भनाइ छ । सकेसम्म समग्र पार्टीमा एकताको प्रयास गर्ने नभए कम्तीमा पनि आफूहरूबीच एकताका साथ अघि बढ्नुपर्ने प्रस्तावमा छलफल भएको र उक्त छलफललाई निरन्तरता दिने सहमति भएको नेता केसी बताउँछन् ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरू केसी, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसी सहभागी रहेका थिए । तीमध्ये नेताहरू केसीद्वय र डा. महत बाहेक सबैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने सहमति हुन नसके अन्य नेताहरूले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिकाअनुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

५३ जिल्लाको सदस्यता विवाद टुङ्गियो

यसैबीच नेपाली कांग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको सो पार्टीले जनाएको छ । १४औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रूपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो लागेको बताइएको हो ।

७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशिल सदस्यताको नामावली दर्ता भइसकेको र पार्टीद्वारा गठित क्रियाशिल सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउने तीब्र गतिमा काम गरिरहेको पार्टीले जनाएको छ ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानविन समिति गठन गरेको थियो ।

file photo