को-कति मन्त्री बनाउने भन्नेबारे माओवादी अलमलमै

को-कति मन्त्री बनाउने भन्नेबारे माओवादी अलमलमै



सरकार सञ्चालन सम्बन्धमा माओवादीले कांग्रेससँग छलफल गर्ने

नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुंग्याउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो ।

बैठकले अध्यक्ष प्रचण्डले देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आज कस्तो मन्त्रिमण्डल निर्माण गर्ने, कति जना सहभागी हुने, कुनकुन पार्टी समावेश हुने भन्ने बारेमा एक पटक छलफल गरेपछि मात्र यसबारेमा निर्णय गर्न उपयुक्त हुने भएकाले अहिले नै सरकारमा सहभागी हुनेको नामबारे टुंगोमा नपुगेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

सरकार सञ्चालनका विषयमा अध्यक्ष प्रचण्डले देउवासँग छलफल गर्ने र त्यसका आधारमा आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।

यसैबीच माओवादीले सम्पूर्ण राजनीतिक दललाई संविधान र लोकतन्त्रका पक्षमा एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ ।

एक सय ४६ सांसदले दायर गरेको मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपालको संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सोमबार परमादेश दिएको थियो । माओवादीले अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण भनी स्वागत गरेको छ ।

फैसलाले संविधान र लोकतन्त्रको रक्षा, स्वेच्छाचारिता र निरंकुशतन्त्रको अन्त्य गर्न महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । माओवादी बैठकले संविधान र लोकतन्त्रको रक्षानिम्ति सङ्घर्ष गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।