नवनियुक्त प्रधानमन्त्री देउवाबाट पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री देउवाबाट पद तथा गोपनीयताको शपथ



राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

नवनियुक्त मन्त्रीको शपथ

pict:rss

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुई–दुई मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीमा बालकृष्ण खाण गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ हुनुहुन्छ । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।