एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने

एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने


प्रतिनिधिसभाको बैठक साउन ३ गते


नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका-संसद् कक्षमा बैठक बस्न लागेको हो ।

आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । यही असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठकले बोलाउन आदेश दिएको थियो ।

संसदीय दलको बैठकमा सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधवपक्षीय सांसदहरुलाई पनि खबर गरिएको बुझिएको छ ।

यसैबीच प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

ज्ञातव्य छ, सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको थियो ।