काङ्ग्रेस पदाधिकारीमा उम्मेदवारी दिने विनोद चौधरीको तयारी

काङ्ग्रेस पदाधिकारीमा उम्मेदवारी दिने विनोद चौधरीको तयारी



जिल्लामा सक्रियता बढ्यो

  • आर. बस्ताकोटी, नवलपुर

उद्योगपति एवं सांसद विनोद चौधरीले नेपाली काङ्ग्रेसको आशन्न १४औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने गरी तयारी शुरु गरेका छन् । त्यसको तयारी स्वरुप चौधरीले नवलपुर जिल्लामा आफ्नो सक्रियता बढाएका छन् ।

चौधरीनिकट स्रोतका अनुसार नेपाली काङ्ग्रेसको पदाधिकारीमा उम्मेदवारी दिने चौधरीको तयारी छ । ‘चौधरीज्युले पदाधिकारीमा जाने इच्छा देखाउनुभएको छ, कुन पदमा लड्ने भन्ने कुरा छलफलकै क्रममा छ, त्यसका लागि पार्टीका नेताहरू, जिल्लाका नेता-कार्यकर्ताहरूसँग संवाद चलिरहेको छ’- स्रोतले भन्यो ।

केही दिनअघि नवलपुर आएर चौधरीले जिल्लाका नेता-कार्यकर्तासँग संवाद सुरु गरेका थिए । हर्कपुरमा रहेको चौधरीको उन्नति कल्चरल भिलेज रिसोर्टमा उनले जिल्लाका तीन दर्जन भन्दा बढी नेता एवम् अगुवा कार्यकर्ताहरूसँग छलफल गरेका थिए ।

छलफलमा चौधरीले आफूले पार्टीसभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालासँग यसबारेमा छलफल गरेको खुलासा गरेका बताइएको छ । सो अवसरमा उनले सभापति र महामन्त्रीलाई सहमतिका साथ अघि बढ्न आफूले आग्रह गरेको बताएका थिए ।

नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक सांसद रहेका उद्यमी चौधरीले पछिल्लो समय राजनीतिक सक्रियता बढाएका छन् । काङ्ग्रेस पदाधिकारीमा निर्वाचन लड्न महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने हुन्छ । नवलपुरको क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने चौधरीको तयारी छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने तयारीस्वरुप उनले जिल्लाका नेता कार्यकर्ताहरूसँग सम्पर्क बढाएका हुन् ।

नेपाली काङ्ग्रेस नवलपुरका सभापति बिष्णुप्रसाद लामिछानेले जिल्लामा चौधरीको सक्रियता बढ्नु सकारात्मक कुरा भएको बताए । उनले चौधरीको सक्रियताले नवलपुर काङ्ग्रेसमा हौसला बढेको भन्दै जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । लामिछानेले भने- ‘पार्टी महाधिवेशनमा लड्न पाउनु उहाँको अधिकारको कुरा हो, कुन पदमा लड्ने कसरी जाने भन्ने बारेमा छलफल चल्नुलाई अन्यथा मान्नु हुँदैन । जिल्लामा काङ्ग्रेस थप मजबुत र चलायमन बनाउन उहाँको राजनीतिक सक्रियता आवश्यक रहेको छ ।’

नेपाली काङ्ग्रेस नवलपुर सङ्घीय क्षेत्र नम्बर १ का सभापति द्रोण वन सन्यासीले पनि चौधरी जस्तो उचाइ भएका व्यक्तित्वले जिल्लाबाट प्रतिनिधत्व गर्छु भन्ने कुरा सकारात्मक रहेको बताए । उनले भने- ‘मैले त यसलाई अत्यन्त सकारात्मक रूपम हेरेको छु, जिल्लाको अवस्था, पार्टीको अवस्थालगायतका बारे उहाँ झन् बढी जानकार हुनुहुन्छ, यसले कसैलाई पनि हानी गर्दैन ।’

नेपाली काङ्ग्रेस नवलपुरका नेता एवं कावासोती नगरपालिकाका मेयरका प्रत्यासी महेन्द्र पोखरेलले चौधरीको आगमनलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । उनले भने- ‘ विनोद चौधरी जत्तिको मान्छे नवलपुर आउँछु भन्दा रोक्न आवश्यक देख्दिनँ, तर उहाँले पार्टीका सबै अवयवहरूलाई सन्तुलनमा राख्नचाहिँ आवश्यक हुन्छ ।’ उनले काङ्ग्रेस महामन्त्री डा. शशांक कोइरालासँग समझदारी कायम गरेर आउन पनि चौधरीलाई सुझाव दिए । उनले भने- ‘डाक्टर साबको क्षेत्र पनि हो, उहाँसँग कुनै पनि असमझदारी रह्यो भने नमज्जा हुन्छ ।’

चौधरीले यसअघि नै कार्यकर्तासँगको भेटमा आफू र कोइरालाबीच असमझदारी नभएको र एकै ठाउँमा रहेको दाबी गरेका थिए ।

नेपाली काङ्ग्रेस नवलपुरका नेता एवं मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले विनोद चौधरीको सक्रियतालाई आफूले पटक्कै नकारात्मक रूपमा नलिएको बताए । ‘नेपाली काङ्ग्रेस एउटा शीतल छहारी हो, यहाँ जो पनि आउन सक्छ, चौधरीजी आएर राजनीतिक सक्रियता बढाउनुलाई सकारात्मक रूपमा हेर्नुपर्छ’- उनले खुलस्त बताए । अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका व्यक्तित्व जिल्लामा आउनु काङ्ग्रेस र यहाँका जनताका लागि सुखद् कुरा भएको उनको ठहर छ ।

नेपाली काङ्ग्रेसको महाधिवेशन भदौमा हुँदैछ । काङ्ग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न तल्लो तहबाट नै निर्वाचित भएर जानुपर्ने व्यवस्था छ । चौधरी सांसद भएका कारण उनलाइँ वडाबाट निर्वाचित हुनुपर्देन तर महाधिवेशन प्रतिनिधिमा उनी निर्वाचित भएर नै जानुपर्ने हुन्छ । चौधरी नवलपुर-१ को मतदाता हुन् । नवलपुर-१ बाट लगातार तीन पटकसम्म काग्रेस महामन्त्री डा. शशांक कोइराला निर्वाचित भएका छन् ।