देउवा सरकारलाई विश्वासको मत दिनेबारे एमालेले सोच्न पनि नसक्ने !

देउवा सरकारलाई विश्वासको मत दिनेबारे एमालेले सोच्न पनि नसक्ने !



नेकपा एमालेको शुक्रबार बसेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने उनको प्रष्टोक्ति थियो ।

बैठकले विवाद समाधान कार्यदलले प्रस्ताव गरेको १०बुँदे सहमति अनुमोदन गरेको छ भने पार्टी एकता गर्न बनाइएको १० सदस्यीय कार्यदल खारेज गरेको जानकारी दिइएको छ । यस्तै, अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको भन्दै आजको बैठकले धन्यवाद दिएको छ ।

यसअघि माधव नेपालपक्षीय कार्यदलका सदस्य भीम रावलले बैठक रोक्न गरेको आग्रह अध्यक्ष ओलीले अस्वीकार गरेका थिए । बैठक जारी भएपछि भीम आचार्य, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुषाल पाँचै जना त्यहाँबाट निस्किएर सोझै माधव नेपालको निवासस्थल पुगेका छन् ।