जनादेशबाट पुनः सरकारको नेतृत्व गर्ने केपीको उद्घोष

जनादेशबाट पुनः सरकारको नेतृत्व गर्ने केपीको उद्घोष



‘फैसलाले दलीय संरचना समाप्त भयो’

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशको फैसलाले दलीय संरचना समाप्त पार्ने बताउनुभएको छ । नयाँ वानेश्वरस्थित संसद् भवनमा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले दलबाट निर्वाचित सांसदलाई दलीय ह्वीप नलाग्ने आदेश दिनु गलत भएको बताउनुभयो ।

किर्ते कागजलाई मान्यता दिएर अल्पमतलाई सरकार बनाउन परमादेश दिइएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री आलीले आफूले पुनः जनादेशबाट सरकारको नेतृत्व गर्ने जिकिर गर्नुभयो ।

उहाँले सर्वोच्चको आदेशअनुसार नै आफू अब संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने स्पष्ट पार्नुभयो ।

बैठकमा अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा भएको सरकारले गरेका कामबारे जानकारी गराउनुभएको थियो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईलका अनुसार बाढी र पहिरोबाट पीडित भएकाको क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरिएको छ । बैठकले यस्तै कोरोना भाइरसविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउने समेत आग्रह गरेको छ ।

प्रमुख सचेतक भट्टराईले केही समयदेखि पार्टीका सांसद असन्तुष्टि भएर बैठकमा अनुपस्थिति रहँदै आएकोप्रति बैठकले गम्भीरतापूर्वक लिएको र कार्यदलले बुझाएको १०बुँदे सहमति कार्यन्वयन गरेर पार्टी एक ढिक्का बनाउनुपर्नेमा जोड दिएको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाको जनस्तरसम्म भण्डाफोर अभियान सञ्चालन गर्ने पनि प्रमुख सचेतक भट्टराईको भनाइ थियो ।