रात रहे अग्राख पलाउँछ भन्ने नेपाली उखान छ । यस उखानले प्रधानमन्त्री शेरबहादुर देउवालाई झस्काएको अनुभूति गरिएको छ । अर्थात्, प्रधानमन्त्री नियुक्त भएको महिना दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार लगभग पच्चीस दिनको समय-सुविधा रहे पनि प्रधानमन्त्री देउवाले आजबाट शुरु हुन लागेको सङ्घीय संसद्को अधिवेशनसँगै आज नै विश्वासको मत लिने भएका छन् । ढिलो गर्दा विश्वासको मत हासिल गर्न कठिनाइ पर्ने आँकलन गर्दै देउवाले आजै संसदबाट विश्वासको मत लिने तयारी गरेका काङ्ग्रेससम्बद्ध स्रोतले जनाएको छ । संसदको आठौँ अधिवेशन आज आइतबार सुरु हुँदैछ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत लिने नेपाली काङ्ग्रेसका सचेतक पुष्पा भुसालले पुष्टि गरेकी छन् । विश्वासको मत लिनेसम्बन्धी सूचना संसद् सचिवालयमा दर्ता गरेको उनले जानकारी गराएकी छन् ।
ज्ञातव्य छ, सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मतका लागि १३६ सांसदको समर्थन आवश्यक छ । विश्वासको मत हासिल भएमा देउवा-सरकारले आगामी करिव डेढ वर्ष सरकार चलाउने छ भने निर्वाचन पनि यही सरकारले गराउनेछ ।
बताइएअनुसार विश्वासको मत जित्ने निश्चित रहेको आँकलनका साथ प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने अठोट गरेका हुन् । दोस्रो पटक संसद् पुनःस्थापना भएपछिको पहिलो बैठक आज अपरान्ह ४ बजे बस्नेछ । पहिलो बैठकमा संसद् अधिवेशनसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने र त्यसपछि दलका तर्फबाट नेताहरूलाई बोल्ने समय दिइने छ । पहिलो बैठक यत्तिकैमा सकिने र, लगत्तै दोस्रो बैठक सुरु गर्ने सभामुखको तयारी छ । दोस्रो बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी भएको बुझिएको छ ।
प्रधानमन्त्री देउवालाई विश्वासको मतका निम्ति अपुग हुने सङ्ख्या माधव नेपाल समूहका केही सांसदहरूबाट पूर्ति गरिने रणनीति सत्ता-गठबन्धनले बनाएको विश्वस्त स्रोतबाट जानकारी मिलेको छ ।
प्रतिक्रिया