देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय, माधवले एक्लै भए पनि देउवालाई दिने !

देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय, माधवले एक्लै भए पनि देउवालाई दिने !


नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

माओवादी दल त्याग गरेका रामबहादुर थापालगायत र मतदान गर्न नपाउने सभामुख अग्नि सापकोटालाई छोडेर यतिबेला माओवादी केन्द्रका ४८ जना सांसद रहेका छन् ।

आजको संसदीय दलको बैठकमा सत्तासाझेदार माओवादी केन्द्रका नेताहरुले एमालेको माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा समेत छलफल गरेका बुझिएको छ ।

यसैबीच नेकपा एमालेका वरिष्ठ नेता दाबी गर्दै आएका माधव नेपालले आफू एक्लै भए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने निर्णय गरेका छन् । एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूसँग आइतबार बिहान भएको भेटवार्तामा नेता नेपालले आफ्नो पक्षका अरु साथीले नदिए पनि आफू एक्लैले भए पनि मत दिने बताएका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । आफू अब निर्णयको एउटा बिन्दुमा पुगिसकेको हुनाले एक्लै परे पनि देउवाको पक्षमा मत हाल्ने दृढता नेपालले प्रकट गरेका प्रवक्ता ज्ञवालीको भनाइ छ ।