संसदीय राजनीतिमा विकृत घटना दोहोरिएको नेता ज्ञवालीको दाबी

संसदीय राजनीतिमा विकृत घटना दोहोरिएको नेता ज्ञवालीको दाबी



प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले संसदीय राजनीतिमा विकृति दोहोरिएको जिकिर गरेका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि गरेको प्रस्तावबारे पार्टीका तर्फबाट धारणा राख्दै उनले विगतमा पनि नेपाली कांग्रेस र एमालेका आफ्नै सांसद्ले मत नदिँदा ती पार्टी नेतृत्वका सरकार ढलेर संसदीय राजनीतिमा विकृति भित्रिएको स्मरण गरे ।

‘प्रश्न को सरकारमा गयो वा गएन भन्नेमा होइन, प्रश्न संसदीय प्रणाली बलियो भयो कि भएन भन्ने हो, सही खेल भयो कि भएन भन्ने हो’ भन्दै एमाले प्रवक्ता ज्ञवालीले भने, ‘विसं २०५२ मा प्रधानमन्त्री मनमोहन अधिकारी घाइते भएका बेला सदनमा आएर अविश्वासको प्रस्तावमाथि जवाफसमेत दिन नपाइ हटाइएको थियो ।’

उनले आफ्नो पार्टीलाई अप्रिय लागे पनि अदालतको फैसला आफूहरूले मान्ने तर शक्ति पृथकीकरणको राज्यको परिकल्पनामा खलल पर्न गएको टिप्पणी गरे । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राष्ट्रियता, शान्तिपूर्ण राजनीतिको यात्राको थालनी, विकास र समृद्धिका क्षेत्रमा गरेका कामलाई जनताले सम्झिइरहने दाबी उनले गरे ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश गरेका थिए । प्रस्ताव पेश गरेर मन्तव्य दिँदै उनले कोभिड-१९ बाट नेपाली नागरिकलाई जोगाउने सरकारको पहिलो प्राथमिकता भएको बताए । जनताको जीवनरक्षाका लागि सबै उपाय अवलम्बन गरिने विश्वास दिलाउँदै उनले अगाडि भने, ‘कोभिड-१९ लोकतन्त्रको चुनौतीका रुपमा रहेको छ, मुलुकमा गरिबी र रोजगारी साझा समस्या रहेका छन्, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शान्ति र विकास हाम्रा साझा दायित्व हुन् । विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छ ।’

राजनीतिक दलबीच शान्तिपूर्ण प्रतिस्पर्धा र स्वस्थ्य आलोचना स्वाभाविक हो भन्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य जरुरी रहेकोमा जोड दिए । मुलुकमा सुशासन कायम गरेर अघि बढ्ने विश्वास पनि प्रधानमन्त्री देउवाले प्रकट गरे ।

मुलुक निकै जटिल अवस्थामा रहेको जनाउँदै उनले पटकपटकको प्रतिनिधिसभाको विघटनका कारण मुलुकमा थप अन्योल छाएको स्मरण गराउँदै निरन्तर सहयोग र समर्थन गर्न सबै राजनीतिक दललाई आग्रह गरे । प्रधानमन्त्री देउवाले सदनलाई अधिकार सम्पन्न र लोकतन्त्रलाई बलियो बनाउँदै राजनीतिक स्थिरताका लागि आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै सदस्यसँग अनुरोध गरे ।