पदबाट राजीनामा दिँदै सांसद अमरेश सिंह

पदबाट राजीनामा दिँदै सांसद अमरेश सिंह



नेपाली काङ्ग्रेसका युवा नेता एवम् प्रतिनिधिसभाका सस्य डा. अमरेशकुमार सिंह सांसद पदबाट राजीनामा दिने निष्कर्षमा पुग्नुभएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाद्वारा उपसभापतिमा मनोनित विमलेन्द्र निधिका कारण डा. सिंह पदबाट राजीनामा दिने अवस्थामा पुग्नुभएको हो । आफूले सांसद पदबाट राजीनामा दिन लागेको जानकारी सांसद सिंहले सभापति शेरबहादुर देउवा, महामन्त्रीहरू पूर्णबहादुर खड्का र डा. शशाङ्क कोइराला तथा केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई गराउनुभएको छ ।

विमलेन्द्र निधिले उपसभापति पदको दुरूपयोग गर्दै दुई नम्बर प्रदेशका सम्पूर्ण जिल्लामा पार्टीका निष्ठावान, पुराना र इमानदार कार्यकर्ताहरूको क्रियाशील सदस्यता नवीकरण नगरी आफूअनुकुल ठेकेदार, तस्कर र व्यापारी तथा बाहुबलीहरूलाई क्रियाशील सदस्यता दिलाएको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । निज निधिले समायोजन र नवीकरणका नाममा दुई नम्बर प्रदेशको पार्टी आफ्नो मुठ्ठीमा लिन खोजेको आरोप लगाउँदै विभिन्न जिल्लामा काङ्ग्रेस कार्यकर्ताहरू धर्नामा बसिरहेका छन् । निधिले प्रदेशभित्रका बलिया तथा संसदीय निर्वाचनमा विजयी बनेका या बन्ने सम्भावना भएका नेताहरूलाई महाधिवेशन प्रतिनिधिसमेत बन्न नसक्ने गरी क्रियाशील सदस्यता वितरण गरिरहेका छन् । काङ्ग्रेसका पुराना नेता-कार्यकर्ताहरूलाई सदस्यताबाट बञ्चित गरेर उनले पूर्वपञ्च सुनिल थापा र पूर्व फोरमनेता विजयकुमार गच्छदारका समर्थकहरूलाई क्रियाशील सदस्यता दिने भन्दै आफूअनुकुलका गैह्रराजनीतिक व्यक्तिहरूलाई काङ्ग्रेसको क्रियाशील सदस्यता वितरण गरिरहेको बताइन्छ ।

यसरी निधिले सदस्यता वितरणमा मनपरी गरेपछि माननीय अमरेशकुमार सिंहले पदबाट राजीनामा दिनुहुनेभएको हो । घटना र विचारसँग कुरा गर्दै सांसद सिंहले भन्नुभयो- ‘जब म आफ्नै पार्टीका इमानदार, निष्ठावान र प्रतिवद्ध कार्यकर्ताहरूको संरक्षण गर्न सक्दिनँ भने देश र जनहितको संरक्षण गर्न कसरी सकौँला !? यस्तो स्थितिमा सांसद पदबाट राजीनामा दिएर भष्मासुर प्रवृत्तिविरुद्ध लड्न नागरिकका रूपमा जनताबीच जानु उपयुक्त हुने मैले ठानेको छु ।’

स्मरणीय छ, विमलेन्द्र निधिले काङ्ग्रेसको आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवार बनी दुई नम्बर प्रदेशको भारी मत आफ्नो पक्षमा पार्ने र, पराजित भएमा (हुने निश्चित मानिन्छ) आफूलाई मतदान गर्ने दुई नम्बर प्रदेशका मानिसलाई समेटेर छुट्टै क्षेत्रीय राजनीतिक दल खोल्ने योजना बनाएको चर्चा सो प्रदेशमा चलेको छ । खाँटी काङ्ग्रेसीलाई क्रियाशील सदस्यताबाट वञ्चित गरेर काङ्ग्रेससँग कुनै साइनो नभएका मानिसलाई मात्र क्रियाशील सदस्यता दिलाउनुले पनि निधिको नियतमा खोट रहेको देखाएको छ ।