ओलीद्वारा आममाफीको उद्घोष, माधव गरे अर्कै संकेत !

ओलीद्वारा आममाफीको उद्घोष, माधव गरे अर्कै संकेत !



गल्ती गर्नेहरु मिल्न आए पार्टी एकताका लागि आफूले आममाफी दिने भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेलगत्तै माधवकुमार नेपालले आफू अब कुनै हालतमा एमालेमा नफर्किने संकेत गरेका छन् । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्तव्य दिने क्रममा उनले अपमान सहेर पार्टीभित्र बस्न नसकिने, बरु कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि लिएर जानका लागि क्रान्तिकारी पार्टी निर्माण गर्ने भन्दै एमालेमा नफर्किने सन्देश प्रवाहित गरेका हुन् ।

केपी ओलीको नाम नलिइकन नेपालले कहिले बरन्डामा उफ्रिने, कहिले बाँदर जुलुस निकाल्न लगाउने भन्दै असन्तुष्टि व्यक्त गरे र भने, ‘बनिबनाउ घरबाट त्यत्तिकै को निस्कन चाहन्छ र ? तर अपमान सहेर त कोही पनि बस्दैन । सबै खालका कुकर्म हुँदाहुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन ।’ सही वैचारिक जगमा पार्टी उभिएन भने पार्टी एक ढिक्का भएर पनि कुनै अर्थ नहुने उनको भनाइ थियो ।

यसअघि पुष्पलाल स्मृति दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रममा ओलीले ‘गल्ती गरेका, बाटो बिराएका, भड्किएका साथीहरुलाई आग्रह गर्छु, पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, आउनुस् मिलेर काम गरौँ’ भनी आह्वान गरेका थिए ।

आफूमाथि यतिबेला ब्यापक घेराबन्दी भएको संकेत गर्दै अध्यक्ष ओलीले भने, ‘कम्युनिष्ट पार्टीमा नेतृत्वलाई घेराबन्दी गर्ने सिलसिला पुरानै हो । विगतमा पुष्पलाललाई आफ्नैले घेराबन्दी गरेका थिए । जुन सिलसिला कम्युनिष्ट पार्टीभित्र अहिले पनि कायम छ । नेतृत्वलाई बदनाम गर्ने, घेराबन्दी गर्ने काम अहिले पनि चलिरहेको छ, आजको नेकपा एमालेमा यो सिलसिला अन्त्य गर्नेछ ।’