राष्ट्रियताको पक्ष लिएबापत प्रदेशप्रमुखलाई दण्ड !

राष्ट्रियताको पक्ष लिएबापत प्रदेशप्रमुखलाई दण्ड !



राजेशलाई हटाउन विशेष दबाब

नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिएका कारण दुई नम्बर प्रदेशका प्रमुख डा. राजेश झा अहिराजलाई पदबाट तत्काल हटाउन बहुराष्ट्रिय राज्यको वकालत गर्ने जातीवादी र क्षेत्रियतावादीहरू निकै सक्रिय भएका छन् । खासगरी उपेन्द्र यादव र उनको समुहले डा. राजेशलाई तुरुन्त हटाउनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डमाथि दबाब दिइरहेका छन् । प्रदेशप्रमुखको कार्यालयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राखेको र, प्रदेश मन्त्रीहरूलाई नेपाली भाषामा शपथ लिन बाध्य पारेकोले उपेन्द्र तथा उनको टोली क्रुद्ध बनेको हो ।

रित नपु¥याइकन आएका कतिपय विधेयक अकाट्य सुझावसहित फिर्ता पठाएपछि उक्त प्रदेशका मूख्यमन्त्री तथा मन्त्री र न्यायाधिवक्तासहित उपेन्द्र यादव राजेशसँग असन्तुष्ट बनेका थिए । पछिल्लो पटक राजेशले लिएको एउटा निर्णयका कारण उपेन्द्र यादवसहित प्रदेशका सबै जातिवादी र क्षेत्रियतावादीहरू ठूलो सङ्कटमा परेका छन् । उनले समावेशिताको नारा लगाउँदै राजनीति र सत्तामा आफ्नो पहुँच बलियो बनाउनेहरूलाई चुनौती दिँदै दुई नम्बर प्रदेशको मन्त्रिमण्डल तथा अन्य निकायहरू समावेशी नहुनुलाई संविधानविपरीत भएको स्पष्ट गरिदिएका थिए ।

प्रदेश सरकारमा तराईबासी पहाडी तथा अन्य केही समुदाय र महिलालाई समावेस नगरिनुलाई राजेशले संविधानप्रतिकुल कार्यको संज्ञा दिँदै मन्त्रिमण्डल र राज्यका अन्य निकायहरूलाई समावेशी बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका थिए । प्रदेश प्रमुखबाट त्यसरी लिखित रूपमै ध्यानाकर्षण गराएपछि ‘मधेशको नाममा मस्ती’ गर्दै आएका एकथरी क्रुद्ध भए पनि मधेशका उपेक्षित समुदायमा भने उत्साह जगाउने काम गरेको छ । राजेशको अग्रसरतापश्चात केही नागरिकले संविधानबमोजिम समावेशिताको अवधारणाअनुरुप कार्य गराउन माग गर्दै जनकपुरस्थित उच्च अदालतमा रिट दायर गरेका छन् । राजेश पदमा रहँदासम्म आफूहरूलाई अप्ठ्यारो पर्ने र, कदाचित उच्च अदालतले संविधानअनुरुप काम गर्न मूख्यमन्त्री र प्रदेश प्रमुखलाई आदेश दियो भने झनै ठूलो सकसमा पर्ने भन्दै उपेन्द्र यादवहरू राजेशलाई जति सकिन्छ चाँडै पदमुक्त गराउने प्रयासमा लागेका हुन् । जातिवाद र क्षेत्रियतावादका हिमायतीहरू आफ्नो प्रयासमा सफल भए भने नेपालमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको पक्षमा काम गरेवापत दण्डित हुने सम्भवतः पहिलो व्यक्तिको रूपमा राजेशको नाम अङ्कित हुनेछ ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा सबै प्रदेश प्रमुखहरूलाई एउटै निर्णयबाट एकै पटक हटाउने पक्षमा छन् । तर उपेन्द्र यादवहरू राजेशलाई पदमुक्त गराउन दिन होइन घण्टा र मिनेटका हिसाबले प्रतीक्षा गरिरहेका छन् ।

राजेश झालाई पदमुक्त गरेर उक्त स्थानमा आफ्ना भाञ्जा चन्दन कौशिकलाई नियुक्त गराउने प्रयासमा काङ्ग्रेसका मनोनित उपसभापति विमलेन्द्र निधिबाट भइरहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । कौशिकलाई निधिले आफू सत्तामा रहँदा नेपाल स्काउटको अध्यक्ष बनाइदिएका थिए । अहिले भने भाञ्जालाई प्रदेश प्रमुखको कुर्सीमा बसेको हेर्ने रहर विमलेन्द्र निधिले गरेका छन् । उता उपेन्द्र यादवले चाहिँ कुनै मुसलमानलाई प्रदेश प्रमुख बनाएर विजय यादवलाई मुख्यमन्त्री चयन गर्ने सोच बनाएका छन् । हालका मूख्यमन्त्री लालबाबुको कामबाट यादव असन्तुष्ट रहेको र, उनको स्थानमा विजय यादवलाई नियुक्त गराउने तयारी भइरहेको बुझिएको छ । तर विजय यादवको थर यादव हुनुबाहेक अर्को कुन योग्यता भएर उनलाई मूख्यमन्त्री बनाउन खोजिएको हो, सो स्पष्ट हुन सकेको छैन ।