पदाधिकारी बैठक छोडेर आकस्मिक रूपमा विमलेन्द्र निधि पुगे नयाँ दिल्ली

पदाधिकारी बैठक छोडेर आकस्मिक रूपमा विमलेन्द्र निधि पुगे नयाँ दिल्ली



नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि बुधबार अचानक नयाँ दिल्ली प्रस्थान गरेका छन् । पार्टीको चौधौँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्यका लागि पार्टी पदाधिकारी बैठक जारी रहेको अवस्थामा आकस्मिक रूपमा भएको निधिको दिल्ली यात्रालाई रहश्यपूर्ण ठानिएको छ ।

काङ्ग्रेस स्रोतका अनुसार कसैको आमन्त्रणमा निधि दिल्ली पुगेका हुन् । तर कसले कुन प्रयोजनका कारण निधिलाई यसरी अपर्झट नयाँ दिल्ली बोलाएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

स्रोतका अनुसार यतिबेला एक अमेरिकी प्रतिनिधि मण्डल पनि दिल्ली भ्रमणमा रहेको छ । निधिको लागि दिल्लीमा एक फाइभ स्टार होटलमा बस्ने प्रबन्ध मिलाइएको बुझिएको छ ।

पार्टीको महत्वपूर्ण बैठक चलिरहेको बेला पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी नगराइ विमलेन्द्र निधि दिल्ली पुग्नुलाई स्वाभाविक रूपमा हेरिएको छैन ।

यसैबीच नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवादमा सहमति हुन बाँकी रहेका विषयलाई टुंगोमा पुर्‍याउन क्रियाशील सदस्यता छानविन समितिलाई नै जिम्मा लगाएको छ । बुधबार सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार क्रियाशिल सदस्यतासम्बन्धी अधुरा विषय पूरा गर्न बिहीबार ३ बजेसम्ममा छानविन समितिका सदस्यहरुलाई समय दिइएको र त्यसपछि पार्टीले आफ्नो निर्णय गर्नेछ ।