बदलिएला त राष्ट्रिय राजनीतिको दशा र दिशा ?

बदलिएला त राष्ट्रिय राजनीतिको दशा र दिशा ?



‘निवर्तमान सरकारलाई अँठ्याउने तत्व नै वर्तमान देउवा-सरकारमाथि हाबी छ’

आम जनताको अपेक्षाविपरीत विधि-विधान थोपर्ने, देश र यहाँका नागरिकप्रतिकूल एजेण्डा लाद्ने, बाह्य सहयोगको नाममा अपारदर्शी तवरमा जनतालाई सकेसम्म भ्रममा पारेर अनेक शीर्षकमा अनुदानको झोली थाप्ने, विदेशीहरूको तलुवा चाट्ने हर्कत गर्ने र हरतरहले आफू गलत कामबाटै मालामाल हुन चाहने नेता हुन् वा कार्यकर्ताहरू- ती सब गद्दार हुन् ।
  • राजबाबु शंकर

कुबेला सरकार परिवर्तनको रोग नेपालमा महामारी झैँ व्याप्त हुँदै आएको जगजाहेर छ । प्रजातन्त्रोत्तर कालखण्डका करिव ३१ वर्ष बल्लतल्ल तीन पटक (जीपी कोइराला, प्रचण्ड र केपी ओलीको नेतृत्वमा) जनमतद्वारा बहुमतको सरकार बने पनि ती आफैले बेफ्वाँकको दम्भ र अराजनीतिक चरित्रका कारण जोगाउन सकेनन् ! र, अधिकांश समय अल्पमतको खिचडी सरकारका कारण जहिल्यै राजनीतिक वैमनस्य र हानाहानको स्थिति नै बहाल रह्यो । कुसंजोग कस्तो छ भने, हाल पनि त्यस्तै भजमने खिचडी सरकार बनेको छ !

यतिबेला बहुमतप्राप्त आफ्नै दल (नेकपा)लाई सत्ताबाट विस्थापन गर्ने पात्रहरू सम्भवतः आफ्नो पार्टीका निर्वाचित प्रधानमन्त्री (सरकार-प्रमुख)को बिनाबित्था, बेमौसमी र बेसोमती दूर्व्यवहारका कारण उनलाई सत्ताबाट बेदखल गर्न बाध्य भएहुन् वा आवश्यक ठानेहुन्- त्यो उनै जानुन् । तर, बारम्बारका यस्ता प्रकरणहरूले देश र देशबासीलाई भने अनाहक समस्यामा धकेलिंदै आएको पक्का हो । त्यसो त सत्ताबाट विवशतापूर्वक बहिर्गमनमा पारिएका ओलीले एकाध बाहेक धेरैचाहिँ गलत काम नै गरिरहेकै हुन् । देश र देशबासीलाई फाइदा हुनेभन्दा आफू र आफ्ना कोटरीका नितान्त स्वार्थीहरूलाई लाभ हुने गरी विवादास्पद बनेरै उनले सत्ता-समय घर्काए । त्यसको सजाय भनौँ या उपदान भनौँ, उनी सत्ताबाट हुत्त्याइएकै हुन् ।

अब यतिखेर आफ्नै सरकार ढालेर राजनीतिक रूपमा विरोधी काङ्ग्रेसलाई सत्ताको गुलदस्ता सुम्पने नेकपाइ बागीहरूले कतिञ्जेल शेरबहादुर देउवालाई काखी चेपिरहने हुन्- झन् भेगिलो र अविश्वसनीय छ । सत्तामा पुगेपछि ओलीभन्दा कम उन्मत्त र मैमत्त नहुने इतिहास बनाएका देउवाको सत्ता-यात्रा पनि कतिञ्जेल हो, यसै भन्न सकिन्न । ‘आमाको दूधले नपुगेर बाउको घुँडा चुस्न पुगेको’ आहानकै हालतमा रहेका माधव नेपाल र प्रचण्डहरूले अब यो सौतेनी शासन-सत्तालाई कसरी र कहाँसम्म सुचारु तुल्याउन सक्लान् वा विवश होलान्- यो प्रश्न यतिबेला गम्भीर छ ।

नेपालमा राजनीति केवल सत्तासुख र शक्तिका लागि गरिन्छ भनिने गरिएझैँ देउवाको नेतृत्वमा गठित सरकारले शासन शुरु गरेको महिनादिन भन्दा ज्यादा बितिसकेको छ । काम गर्ने सरकारका निम्ति यो अवधि कम्ता होइन, तर जनहितका काम थालनी नगरी ‘शासन’ मात्र गर्न खोज्ने शैलीको पहिलो प्याकेजमा सरुवा-बढुवा, खारेजी, निलम्बन इत्यादिको परेड खेल्न शुरु गरिएको छ ! सत्तालाई सुखभोगको साधन तुल्याउन खोज्नेहरूको चाहना असङ्ख्य हुन्छ नै, त्यस्तालाई भने ओलीको पालामा झैँ देउवाकाल पनि फलिफापपूर्ण नहुने कुरै भएन ।

वर्तमान सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन अझसम्म सकेको छैन । मन्त्री बन्न सांसदहरू मरिहत्ते गरिरहेका छन्, गुट फेरिरहेका छन्, फोरिरहेका छन्, आफ्नो स्वार्थी चरित्र देखाइरहेका छन् । आखिर शीर्ष नेताहरूकै स्कूलिङ पदलालचीको रहँदै आएको परिदृश्यमा त्यो अन्यथा नहोला । शीर्ष नेतृत्व जस्ता छन्, त्यस्तै नेता र कार्यकर्ता उत्पादन हुने न हुन् । तर, यसले नेपाली राजनीतिकर्मीहरूको समग्र दुष्चरित्र नाङ्गेझार त बनाइदिएकै छ । वर्तमान खिचडी सरकारका प्रमुख सूत्रधार माओवादी सुप्रिमो प्रचण्डले त आफ्नो तनाव सार्वजनिक नै गरिसके भने एमालेका अर्का बागी माधव नेपाल पनि कम दबाबमा छैनन् । यद्यपि यो कुरा जनताका हकमा खास होइन ।

‘आमाको दूधले नपुगेर बाउको घुँडा चुस्न पुगेको’ आहानकै हालतमा रहेका माधव नेपाल र प्रचण्डहरूले अब यो सौतेनी शासन-सत्तालाई कसरी र कहाँसम्म सुचारु तुल्याउन सक्लान् वा विवश होलान्- यो प्रश्न यतिबेला गम्भीर छ ।

भन्नैपर्छ- देशको हित र नागरिकको कल्याण गर्न नभई देशको ढिकुटी र त्यसका पाश्र्व स्रोत-साधन मनपरी दोहन गर्नकै लागि नेपालमा दल र त्यसका मरिहत्ते गर्ने कार्यकर्ता असंख्य छन्, उत्पादन गरिएका छन् । आम जनताको अपेक्षाविपरीत विधि-विधान थोपर्ने, देश र यहाँका नागरिकप्रतिकूल एजेण्डा लाद्ने, बाह्य सहयोगको नाममा अपारदर्शी तवरमा जनतालाई सकेसम्म भ्रममा पारेर अनेक शीर्षकमा अनुदानको झोली थाप्ने, विदेशीहरूको तलुवा चाट्ने हर्कत गर्ने र हरतरहले आफू गलत कामबाटै मालामाल हुन चाहने नेता हुन् वा कार्यकर्ताहरू- ती सब गद्दार हुन् ।

हाल गठबन्धन भनिने खिचडी सरकारमा कुन ओहदा वा स्थानमा कसले कति हिस्सा ओगट्ने, कुन पात्रलाई कुन ठाउँमा आसिन गराउने, कुन-कुन विदेशी सरकारको हुकूम मान्ने… यावत् नौटङ्की चलिरहेकै छ । यहाँनेर उल्लेख गर्नै पर्छ, निवर्तमान सरकारलाई अँठ्याउने तत्व नै वर्तमान देउवा-सरकारमाथि हाबी छ । त्यसैका निमित्त ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ या यस्तै कुनै नाममा प्रधानमन्त्री देउवामाथि सवार हुने एजेण्डा चालू छन् । देउवा आफै सत्ताका हकमा सदाचारी, सक्षम र निष्पक्ष पात्र हुँदै होइनन् भन्ने त उनकै विगत काफी छँदैछ । अबका दिनहरूमा अर्थात् करिव डेढ वर्ष अरू नै दलका नेताको ‘आज्ञापालक’ बनेर, कसैले नटेर्ने अक्कडो स्वभावका देउवाले कसरी आफ्नो शासन-सत्तालाई सुचारु तुल्याउन सक्लान् वा नसक्लान् ? राष्ट्रिय राजनीतिको दिशा फेरि के र कस्तो होला ? यस्तै गम्भीर एवम् सकसपूर्ण प्रश्नहरूले यतिबेला समय गिजलिएको छ ।