आयल निगम पूर्व महाप्रबन्धकले २ करोड भ्रष्टाचार

आयल निगम पूर्व महाप्रबन्धकले २ करोड भ्रष्टाचार


काठमान्डौं । नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक मदनराज शर्माले करिब २ करोड रुपैयाँ बराबर भ्रष्टाचार गरेको विशेष अदालत, काठमाडौंले फैसला सुनाएको छ। आजको उक्त फैसलामा १ वर्ष कैद र २ करोड २ लाख ४१ हजार ८४ रुपैयाँ र १६ पैसा बराबरको सम्पत्ति जफतसमेत हुने उल्लेख छ।

विशेष अदालतले सुनाएको फैसलामा भनिएको छ – ‘प्रतिवादीको आय र सम्पत्तिको हिसाव किताव गर्दा प्रतिवादी मदनराज शर्मा, निजकी पत्नी रुपा ढुङ्गेल र छोरी प्रिति ढुङ्गेल (भण्डारी) समेतका नाममा चलअचल गरी रु.३,१६,७९,१९३।२३ बराबरको सम्पत्ति रहेको उल्लेख गर्दै, त्यसमध्ये रु.१,१४,३८,१०९।३३ बराबरको सम्पत्ति वैध स्रोत खुलेको र रु.२,०२,४१,०८४।१६ बराबरको वैध स्रोत नखुलेको सम्पत्ति रहे भएको देखिन आयो।’

फैसलाले भनेको छ – ‘सो ठहरेकाले निज प्रतिवादी मदनराज शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२) बमोजिम कैद वर्ष १ (एक) र विगोबमोजिम जरिवाना भई बिगो दुई करोड दुई लाख एकचालीस हजार चौरासी रुपैयाँ र सोह्र पैसा बराबरको सम्पत्ति जफतसमेत हुन्छ।’

फैसला गर्ने इजलासका अध्यक्ष गौरीबहादुर कार्की थिए भने सदस्यमा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसे थिए। -मेस, काठमान्डौं