दललाई सन्यास-आश्रम बनाएपछि नयाँ पुस्ता कहिले आउने ?

दललाई सन्यास-आश्रम बनाएपछि नयाँ पुस्ता कहिले आउने ?


पार्टीमा वर्षौंदेखि अध्यक्ष रहेका पुरानै नेताहरू फेरि पनि नेतृत्व लिन लागिपरेका छन्, यसबाट अहिलेका युवा पुस्तासम्म राजनीति पुग्दा युवाहरू वृद्धवृद्धा भइसकेका हुनेछन् भन्न सकिन्छ ।

  • बबिता बस्नेत

अब्राहम लिंकनले राजनीतिमा संलग्न ब्यक्तिहरूलाई लक्षित गर्दै भनेका थिए- ‘राजनीतिमा असफल हुनु ठुलो कुरा होइन तर असफलतामा सन्तुष्टि लिनुचाहिँ अप्ठ्यारो मान्नुपर्ने कुरा हो ।’ हामीकहाँ त्यस्तै देखिएको छ, धेरै वर्षदेखि राजनीतिमा संलग्न नेताहरू आफ्नो असफलतामा सन्तुष्टि लिँदै पार्टीको आन्तरिक चुनावी दौडधुपमा छन् । त्यस्ता नेताहरू जसलाई दौडधुप गर्न अब उमेर र स्वास्थ्यले खासै साथ दिइरहेको छैन, जसलाई जिन्दगीमा अब आरामको आवश्यकता छ, जसले विगतमा कुरा त धेरै गरे तर कुराअनुसारको काम गरेनन् । मुलुकमा शान्तिको कुरा गर्नेहरू एकार्कामा भने कहिल्यै मिलेनन्, अशान्त मनका बीच शान्तिका वार्ता, छलफल र कुराकानी असहज लाग्थे । भनाइ र गराइबीचको दूरी लामो बन्ने क्रममै उनीहरू फेरि एक पटक आफ्नै दलको महाधिवेशनमा हुने निर्वाचनमा होमिएका छन् । विभिन्न दलमा भएका युवाहरू जसले मुलुकमा परिवर्तन ल्याउन सक्थे, नयाँ भिजनका साथ अगाडि बढ्न सक्थे, जो चुनाव लड्न चाहन्थे, जनतामाझ जान चाहन्थे, तीमध्ये धेरैले ठाउँ नपाएको अवस्था छ । गत आम निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छे बाहेक ठुला दलका अध्यक्षहरू सबै नै चुनावी मैदानमा उत्रिए । पार्टीमा म नै चाहिन्छ, संसदमा म नभइ हुँदैन भनेर पद नछाड्ने नेताहरू भन्दा ‘अब म चुनाव लड्दिनँ’ भनेर युवा पुस्तालाई अगाडि बढाउने नेता नारायणमान बिजुक्छेप्रति सर्वसाधारणको सम्मान छ । तर वर्षौंदेखि पार्टीको उच्च नेतृत्व र पटक-पटक सरकारमा रहेर सफल हुन नसकेका नेताहरू आफ्नो असफलतामा सन्तुष्टि लिँदै पुनः नेतृत्व हत्याउन लागिपरेका छन् ।

अहिले राजनीतिमा जुन माहौल देखिएको छ त्यो हेर्दा नयाँ पुस्ताका हातमा आउनका लागि राजनीतिले लामै समय पर्खिनुपर्ने छ । जिन्दगीको अन्तिम समयसम्म राजनीतिमा रमाइरहने चाहनाले नेताहरूलाई न मुलुक बनाउनमा प्रेरित ग¥यो न त तिनले आफ्नो जिन्दगी नै आनन्दसँग बाँच्न पाए । जीवन आनन्दसँग बाँच्नु भनेको कहिलेकाहीँ सजिलोसँग ओछ्यान लाएर निर्धक्कसँग निदाउनु पनि हो । यसले सत्ता लेला कि उसले लेला, उ अघि बढ्ला कि त्यो अघि बढ्ला, उसले खाइसक्ला कि त्यसले खाइसक्ला, यताबाट लिउँ कि उताबाट लिउँ, आफू र आफ्नालाई कताबाट उकासुँ, अरुलाई कसरी पछारुँ भन्दाभन्दै मुलुकले विकसित हुने मौका पाएन । यसबीचमा धेरै नेताहरू विकसित भए, को कति भए जगजाहेर नै छ । राजनीतिक रूपमा मात्र होइन, ब्यक्तिगत जीवनमा पनि उहाँहरूले सुरक्षित महसूस गर्न सक्नुभएको छैन । असुरक्षित महसूस गर्दागर्दै जिन्दगीको अन्तिम अवस्थामा पुग्नु कुनै पनि अर्थमा सफल जीवन होइन । मान्छे हुनुको अर्थमा मृत्यु निश्चित छ, सबैतिरबाट सुरक्षित महसूस गरेर, युवा पुस्तालाई ‘हामीले सक्ने गर्‍यौँ, अब तिमीहरूको पालो’ भनी राजनीति हस्तान्तरण गरेर सन्तोषपूर्वक यो संसार छोड्ने नेताहरूको नाम लिन पाइएला जस्तो देखिँदैन ।

मुलुकलाई सम्पन्न बनाएर, मुलुकमा दूरगामी शान्ति छाउने प्रकारको विकास गरेर आनन्दसँग अवकाश लिने मानिसहरूको सूचि यो दुनियाँमा लामो छ । तर हामीकहाँ भने बाँचुञ्जेल राजनीति गर्ने र सकेसम्म आफू शक्तिमा हुँदै देह त्याग गर्ने इच्छा नेताहरूमा देखिन्छ ।

युवा नेताको उपाधि कायमै रहेका बेला ७६ वर्षको उमेरमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भयो । अन्तिमका केही वर्ष उहाँ अस्वस्थ हुनुहुन्थ्यो । तर जीर्ण हुँदै गएको उहाँको शरीरलाई आराम गर्न दिइएन । उहाँले पनि शायद चाहनुभएन । जबर्जस्ती सभापति, प्रधानमन्त्री जस्ता पदहरूमा उठाइयो । उहाँ सधैं थकित देखिनुहुन्थ्यो । दुःखलाग्दो कुरा के छ भने केही समय आनन्दसँग बाँच्नै नपाइ उहाँले यो संसार छोडेर जानुभयो । जिन्दगी प्राप्त गर्नु आफैमा ठुलो कुरा हो, यसलाई शान्तिपूर्ण बनाउनु र शान्तिपूर्वक बाँच्नु सफल जीवनको सूचक हो । राजनीति गर्दैमा शान्ति नपाइने या प्राप्त नहुने होइन । मुलुकलाई सम्पन्न बनाएर, मुलुकमा दूरगामी शान्ति छाउने प्रकारको विकास गरेर आनन्दसँग अवकाश लिने मानिसहरूको सूचि यो दुनियाँमा लामो छ । तर हामीकहाँ भने बाँचुञ्जेल राजनीति गर्ने र सकेसम्म आफू शक्तिमा हुँदै देह त्याग गर्ने इच्छा नेताहरूमा देखिन्छ ।

नयाँ पुस्ता आउँदैमा मुलुक कायापलट हुने होइन । पुरानाहरू आउनैनहुने पनि होइन, तर सधैं एकैनासका नेताहरूले शासन गर्दा मुलुकको अवस्था के छ भनेर अब जनताले सोच्नु र किन यस्तो भयो भनेर बुझ्नु आवश्यक छ । उहाँहरूको सक्रिय राजनीतिले भन्दा पाको अनुभवको मार्गदर्शनले युवाहरूलाई आफ्नो भिजन परिमार्जित गर्न मद्दत पुग्नेछ । पुरानो पुस्ताको कामै छैन या उहाँहरूको अनुभव लिनु हुन्न भन्नु भुल हुनेछ । सही सुझाबहरू प्राप्त गर्ने अवस्था भएमा लिँदै युवा पुस्ताले मुलकको राजनीतिलाई अगाडि बढाउनुपर्थ्यो । तर जुन रूपमा अहिले पार्टीमा वर्षौंदेखि अध्यक्ष रहेका पुरानै नेताहरू फेरि पनि नेतृत्व लिन लागिपरेका छन् यसबाट अहिलेका युवा पुस्तासम्म राजनीति पुग्दा युवाहरू वृद्धवृद्धा भइसकेका हुनेछन् भन्न सकिन्छ । नयाँ जोश-जाँगर मर्दै गएर उत्तराद्र्धतिर पुगेपछिको अवसरले उत्तरदायित्व निर्वाह गर्न पनि कठिन बनाउँछ ।

पार्टीमा म नै चाहिन्छ, संसदमा म नभइ हुँदैन भनेर पद नछाड्ने नेताहरू भन्दा ‘अब म चुनाव लड्दिनँ’ भनेर युवा पुस्तालाई अगाडि बढाउने नेता नारायणमान बिजुक्छेप्रति सर्वसाधारणको सम्मान छ ।

प्रकृतिले कसैलाई पनि सधैं एकनासको बनाइरहँदैन । त्यो नबनाउनका लागि अनेक चरणहरू, वसन्त र शिशिरहरू छुट्याइदिएको छ । मानिसको जीवनमा कुन समयमा के गर्ने भन्ने उपनिषद्मा उल्लेख भएको पाइन्छ । आश्रम ब्यवस्थाअनुसार ब्रह्मचर्य आश्रम, गृहस्थ आश्रम, वानप्रस्थ आश्रम र सन्यास आश्रम गरी जीवनलाई चार भागमा विभाजित गरिएको छ । सुरुको २५ वर्षलाई ब्रह्मचर्य आश्रम भनिएको छ । यो समयमा शिक्षादीक्षा लिने आफूले आफूलाई सक्षम बनाउने भन्ने छ । गृहस्थ आश्रम २५ देखि ५० वर्षलाई मानिएको छ । यो समय ब्यवहारिक जीवन भोग्ने समय हो । घर बनाउने या संहाल्ने, विवाह गर्ने, कामकाज गर्ने, बालबच्चा, कमाइ, ब्यवहारिक जीवनलाई पूर्णता दिने । राजनीतिलगायत अन्य विभिन्न क्षेत्रमा आफ्नो पृष्ठभूमि बनाउने समय पनि यही नै हो । गृहस्थपछिको २५ वर्ष वानप्रस्थ आश्रम हो । वानप्रस्थ आश्रम र सन्यास आश्रमलाई पवित्रता र त्यागमा बिताउने समय भनिएको छ । उमेरअनुरूप आफूले लिएको अनुभव स्वार्थरहित भएर उपयोग गर्ने मान्यता भए पनि हामीकहाँ भने स्वार्थसिद्ध गर्नका लागि अनेक चलखेल गर्ने गरिएको छ ।

गृहस्थ जीवन बिताएका मानिस एक्लै हुने सम्भावना भएको उमेर पनि हो वानप्रस्थ आश्रम । त्यसैले एक्लै जीवन बिताउनका लागि अभ्यास गर्ने उमेरका रूपमा पनि ५० देखि ७५ वर्षलाई मानिएको छ । ज्ञान र अनुभवको उपयोग गर्ने वानप्रस्थानकै उमेरमा सन्यास आश्रमको अभ्यास गर्ने र ७५ वर्षपछि आफैभित्रको संसारमा रमाएर शान्तिपूर्वक मृत्युको तयारी गर्ने भन्ने हो । मृत्युको तयारीको अर्थ मर्नका लागि खुट्टा तानेर बस्ने भन्ने होइन, लोभ-मोहरहित भएर शान्तिपूर्वक जीवन बिताउने, कुनै पनि बेला हुने मृत्युको आतङ्कबाट आफूलाई मुक्त राख्ने भन्ने हो । नेपालको राजनीतिलाई आश्रम ब्यवस्थासँग जोड्दा ५० देखि ६५ वर्षसम्म योगदान गर्न सकिने उर्वर समय हो । त्यसअघि २५ वर्ष देखि ५० वर्षसम्मका युवा पुस्ताले आफूलाई परिमार्जित गर्ने, अनुभव लिने समय हो । अनुभव लिनका लागि उत्तरदायी स्थानमा हुनुपर्ने हुन्छ । विभिन्न उत्तरदायी पदमा भूमिका निर्वाह गरेपछि निःस्वार्थ भावनाबाट प्रेरित भएर मुलुक र जनताका लागि समय दिन सकिन्छ । आफूले युवा हुँदा बनाएको भिजनलाई ब्यवहारमा कार्यान्वयन गर्न सकिन्छ ।