छोरीको नाममा घरको पहिचान अभियान

छोरीको नाममा घरको पहिचान अभियान


  • श्रीकृष्ण धिमाल, काठमाडौं

नेपालमा पनि छोरीको नाममा ‘नेमप्लेट’ अभियान सुरु भएको छ । भारतका महिला अधिकारका लागि चर्चित अभियन्ता सुनिल जगलानले नेपालमा ‘छोरी पञ्चायत’पछि बालिकालाई मान्यता दिन र सम्पत्तिको हक पाउन प्राचीन काशीखण्ड नमोबुद्व नगरपालिकामा छोरीको नाम राखेर घरको प्रवेशद्वारमा पाटी लगाउने अभियान सुरु गरेका छन् ।

सुनिल जगलानले भारतमा छोरीको नाममा १६ हजारभन्दा बढी नेमप्लेट राखेका छन्, जसले सोचमा धेरै सकारात्मक परिवर्तन ल्याएको छ । प्राचीन भारत वर्षमा खास गरेर नेपालमा छोरीलाई कुमारी देवी र सृष्टिको सम्वाहक मानिने गरिन्थ्यो । पहिले-पहिले धन/सम्पत्तिमा महिलाको प्रमुख हक-अधिकार थियो । समय फेरिँदै गयो र पितृसत्तात्मक संरचनाले बालिका/महिलामाथि दमन गऱ्यो ।

भारतमा जस्तै नेपालमा पनि युवतीले सम्पत्तिको हक पाउँदैनन् भन्ने नामको पाटी लगाएर यो अभियान सुरु गरिएको छ । नमोबुद्व नगरपालिकानिवासी सन्तोषको घरको प्रवेशद्वारमा प्रिसा निवास’ लेखिएको प्लेट टाँसेर अभियान आरम्भ गरिएको हो । प्रिसाका बुबा सन्तोष स्वयम् पनि लामो समयदेखि सामाजिक सञ्जालबाट सेल्फी विथ डटर अभियानमा आबद्ध छन् ।

छोरीको नाम नै आफ्नो घरको पहिचान बनेपछि आफूलाई मन परेको उनले बताए । ‘म मेरो छोरीलाई मेरो पूरा हिस्सा पक्कै दिनेछु र उसलाई कलेज स्तरभन्दा माथिको पढाइ गराउने छु’ – सन्तोषले भने ।

सुनिल जगलानले अब सबै देशमा बालिकालाई सम्पत्तिको अधिकार दिन थाल्ने समय आएको बताए । देशलाई विकसित बनाउन केटीहरुको मुहारमा मुस्कान आउनु जरुरी छ र त्यो उनीहरुले आफ्नो अधिकार पाएपछि आउने उनको तर्क थियो ।

सुनिल जगलानले भारतमा छोरीहरूको नेमप्लेट लगाउने अभियान ६ जुलाई २०१५ मा हरियाणा राज्यको जिन्द जिल्लास्थित बिबीपुर गाउँबाट सुरु भएको जानकारी दिए । त्यसपछि भारतका धेरै राज्यसरकारहरूले पनि यसलाई अपनाए । ‘भारत र नेपालको संस्कृति र रीतिरिवाज धेरै मिल्दोजुल्दो छ, त्यसैले अभियान चलाउने मेरो प्रयास हो’- उनले भने ।

उल्लेखनीय छ कि सुनिल जगलान एक दशकभन्दा बढी समयदेखि भारतमा महिला अधिकारका लागि काम गर्दै आएका व्यक्ति हुन्, जसका लागि उनले दुई पटक राष्ट्रिय पुरस्कार पनि पाइसकेका छन् । यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देश तथा विदेशका कार्यक्रममा उनको कामको कयौं पटक प्रशंसा गरेका छन् ।

सुनिल जगलानले उनको अभियानलाई नेपालका दिदीबहिनी तथा दाजुभाइले आत्मसात् गरी नेपालको महिला सशक्तिकरणको उदाहरण विश्वसामु प्रस्तुत गर्नेमा आफू विश्वस्त रहेको बताए ।

जगलानको टोलीमा सेल्फी विथ डटर फाउण्डेशनका वरिष्ठ सल्लाहकार सुनील नन्दा सहकर्मी छन्, जो पिनल रिफर्म इन्टरनेशनलको दक्षिण एसिया क्षेत्रिय कार्यालयका निर्देशकका रूपमा नेपालमा ४ वर्ष काम गरेका व्यक्ति हुन् ।