‘राजसंस्था’पछि थापाले त्याग्न बाँकी एजेण्डा ‘हिन्दु राष्ट्र’ !

‘राजसंस्था’पछि थापाले त्याग्न बाँकी एजेण्डा ‘हिन्दु राष्ट्र’ !


कमल थापाको कथित ‘निष्ठा’को मुकुण्डो उत्रिएको छ । राजसंस्थाको एजेण्डा अब नबोक्ने निर्णय थापाले गरेको सार्वजनिक भएको छ । आश्चर्य मान्नुपर्दैन- छिट्टै ‘हिन्दु राष्ट्र’को एजेण्डा पनि उनले त्याग्न सक्छन् !


राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन्, पच्चिसौँ वर्षदेखि शीर्ष नेतृत्वमा रही रजगज गर्दै आएका कमल थापालाई पराजित गर्दै । एउटा पात्र मात्र नभइ प्रवृत्तिकै रूपमा चिनिन थालेका कमल थापा, जसले चरम अवसरवादी व्यक्तिको रूपमा पार्टीभित्र र राप्रपाइतरको राजनीतिक वृत्त एवम् आमतहमा समेत परिचय बनाएका थिए, जसलाई उनकै दलका नेता-कार्यकर्ताले समेत ‘मुसा प्रवृत्तिका पात्र’को विशेषण प्रदान गरेका थिए । व्यक्तिगत स्वार्थसिद्धिका लागि दलको सिद्धान्त, आदर्श, मूल्य-मान्यता सबै लिलाममा चढाउन सक्ने र, आफ्ना विकृत कदमलाई वक्तृत्व चातुर्यताको जलपमा सही भएको भ्रम पस्किँदै कार्यकर्ता पङ्क्ति तथा सिङ्गै पार्टीलाई गुमराहमा राख्ने कुटिलता अपनाउँदै लामो अवधि नेतृत्वमा टिकेका थापालाई चुनौती दिन सो दलका ‘भेटरान’ नेताहरूले समेत सकेका थिएनन् । थापाको मुसेप्रवृत्ति पछिल्ला दिनमा उत्कर्षोन्मुख देखिन्थ्यो । बेलाअनुसार बोली फेर्दै आफूलाई चामत्कारिक नेतृत्व भएको घोषणा गर्ने प्रचण्ड जस्ता नेताले पनि पछिल्ला दिन ‘गोत्र मिल्ने’ भन्दै प्रशंसा गर्न थालेका थिए । यसले कमल थापा स्वार्थसिद्धिका लागि कहाँ-कहाँसम्म चोचोमोचो मिलाउन सक्छन् भन्ने स्पष्ट पारिरहेकै थियो । यस्तैमा पार्टी अध्यक्षमा लिङ्देनसँग पराजित भएपछि थापाको वास्तविक अनुहार थप उदाङ्गिन पुगेको छ ।

आफू पराजित हुने पूर्वाभास भएपछि जितका निम्ति अनेक तिगडम अपनाएका थापाले निर्वाचनको मुखैसम्म पनि ‘राजाको साथ आफूलाई रहेको’ भन्ने कपोलकल्पित दाबी गर्दै माहोल आफ्नो पक्षमा पार्ने प्रयत्न गरेका थिए । ‘आलोकाँचो नेतृत्वमाथि आफ्नो विश्वास नरहेको’ भन्दै पशुपतिशमशेर राणाको नाममा वक्तव्य जारी गर्ने/गराउने तल्लो स्तरको कर्म गर्न पनि उनी चुकेनन् । यसरी राजादेखि राणा हुँदै रङ्कसम्मलाई बदनामीको आहालमा डुबाउँदै थापाले पुनः नेतृत्व हत्याउने हर्कत गरेकै हुन् । तर, पार्टीको सिद्धान्त, आदर्श र मूल्य-मान्यता बिक्री गर्दै राजनीतिक महत्वकाङ्क्षाको सिँढी उक्लने उनको जालझेल र ढोँगसँग राप्रपाका इमानदार एवम् जागरुक कार्यकर्ताहरू भलिभाँती परिचित भइसकेका छन् भन्ने हेक्का उनलाई भएन । राप्रपाले अवलम्बन गरेको नीति-सिद्धान्त तथा मूल्य-मान्यताको वास्तविक बाहकको खोजी निर्वाचनका मतदाता/प्रतिनिधिहरूले गरिरहेका छन् भन्ने हेक्का यदि उनलाई हुँदो हो त पराजित भएपछि ‘मानसिक सन्तुलन नै गुमाएको’ अवस्थामा पुग्नुपर्ने थिएन ।

हो, मानसिक अवस्था नै खल्बलिएको सन्देश प्रवाहित हुने गरी कमल थापाका अभिव्यक्तिहरू सामाजिक सञ्जालमार्फत छरपस्ट भएका छन् । कार्यकर्ताको मतबाट लघारिएका उनी ‘निर्मल निवास’ र ‘राजा’माथि धारे हात लगाउँदै स्वयम्लाई थप गिराउँदै छन् । हिजो संसद्मा पच्चीस सिटप्राप्तिको मदमा उन्मत्त रहँदा पार्टीका एजेण्डा भुल्दै धर्मनिरपेक्ष गणतन्त्रको पक्षमा वकालत गर्न युएन फोरमसम्म पुगेका थापालाई एक सिटमा खँगारिएपछि पनि बोध भएन कि हिन्दुत्वप्रति प्रेम गर्ने तमाम मतदाताको आस्था र विश्वासमाथि कुठाराघात गर्नु घोर पाप थियो ! उनी फगत पद र पैसाको सिँढी उक्लने धुनमै सवार रहे, पार्टीका तमाम कार्यकर्तालाई केवल दास सम्झिए । वास्तवमा उनको अधोगतिको यात्रा त त्यसैबेलदेखि भएको थियो, महाधिवेशनका प्रतिनिधिले त विधिसम्मत ढङ्गबाट पन्छाउने समयसम्म पर्खिएका र, समय आएपछि त्यसको सदुपयोग मात्र गरेका हुन्- मुसा-प्रवृत्तिलाई पन्छाउनका लागि । यत्ति यथार्थ बुझ्न सकेका भए थापाले कुनै निवास या कुनै राजालाई सत्तोश्राप गर्दै पापको भारी बोकिरहन पर्ने थिएन ।

यदि कमल थापामा राजनीतिक नेतामा हुनुपर्ने गुण र सहृदयी मानवमा रहने सद्गुण, विवेक थियो भने उनले राजेन्द्र लिङ्देनको विजयलाई हार्दिकताका साथ स्वागत र समर्थन गर्नुपर्थ्यो । कथित तवरमा हरेक ठूला दलको नेतृत्व तहमा बाहुन/क्षेत्रीको मात्र वर्चश्व रहेको परिवेश चिर्दै एक जनजाति समुदायको छोरो सिङ्गै देशले चाहिरहेको एजेण्डाको भारी बोकेर विजयी बन्दैगर्दा थापा सबभन्दा ज्यादा हर्षित हुनुपर्थ्यो । दलीय नेतृत्वमा प्रवृत्तिकै रूपमा जरो गाडेको अक्षम, भ्रष्ट र बुढा पुस्ता विस्थापन गरी नेतृत्वमा पुस्तान्तरणको सन्देश प्रवाहित गरेको भन्दै प्रशंसा गर्ने उदारता प्रकट गर्नुपथ्र्यो । सारमा भन्नुपर्दा अरु सबैभन्दा धेरै खुशी कमल थापा हुनुपर्थ्यो लिङ्देनको जितमा ! तर थापाले आफ्नो चरित्र प्रदर्शन गरिछाडे लिङ्देनको विजयप्रति अनुदार बनेर । यति मात्र नभइ आफूले राजा\राजसंस्था काँधमा बोकेको भन्ने उनको दाबी ढोँग मात्र रहेछ भन्ने पनि जगजाहेर गराए । यसबाट उनको कथित निष्ठाको मुकुण्डो पनि उत्रिएको छ । राजसंस्थाको एजेण्डा अब नबोक्ने निर्णय थापाले गरेको सार्वजनिक भएको छ । आश्चर्य मान्नुपर्दैन कि छिट्टै ‘हिन्दु राष्ट्र’को एजेण्डा पनि कमल थापाले त्याग्न सक्छन् !