देउवाको महाविजय : कोइराला पक्षको राजनीति सदाका निम्ति अन्त्य

देउवाको महाविजय : कोइराला पक्षको राजनीति सदाका निम्ति अन्त्य


काङ्ग्रेस पार्टी शेरबहादुर देउवाको नियन्त्रणमा गएपछि त्यस पार्टीका युवा कार्यकर्ताभन्दा बढी निराश काङ्ग्रेस बाहिरका मानिस भएका छन् । अबको संसदीय निर्वाचनमा भावी प्रधानमन्त्रीको अनुहार हेरेर पनि जनताले काङ्ग्रेसलाई नरोज्ने सम्भावना बढाएको छ ।


नेपाली काङ्ग्रेसको दोस्रो महाधिवेशनबाट शेरबहादुर देउवा सभापति पदमा दोस्रो कार्यकालको लागि अनुमोदित हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले भन्दा करिब साँढे पाँच सय बढी मतले प्रथम चरणको निर्वाचनमा अग्रता हासिल गर्नुभएका देउवालाई प्रतिष्पर्धीहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिले समेत समर्थन दिएपछि उहाँको अनुमोदन निश्चित भएको हो ।

गत सोमबार (मङ्सिर २७) सम्पन्न पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, डा. शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको थियो । देउवा पक्षलाई पहिलो चरणमै विजयी बन्ने विश्वास थियो । कुल मत (४६८१) को पचास प्रतिशतभन्दा बढी मत पहिलो चरणमा नै प्राप्त हुने विश्वासमा रहेको देउवा पक्ष दोस्रो चरणको निर्वाचन परिणाम अनिश्चित हुने चिन्तामा थियो । तर निर्वाचन परिणामले दोस्रो र अनेक पटक निर्वाचन गरिए पनि देउवाको विजय निश्चित गरिदियो । डा. शेखरलाई विजयी बन्न उहाँले प्राप्त गर्नुभएको कुल मत (१७२९) मा ६१२ मत थपिनुपर्ने भयो भने शेरबहादुर देउवा जम्मा ८३ मत थपिँदा विजयी बन्नुहुने स्थिति देखापऱ्यो । त्यसमाथि प्रकाशमान सिंह (३७१) र विमलेन्द्र निधि (२४९) ले समेत दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने घोषणा गरेपछि देउवाको विजय सुनिश्चित गरेको थियो ।

शेरबहादुर देउवा दोस्रो कार्यकालका निम्ति सभापति चयन भएसँगै काङ्ग्रेसमा कोइराला पक्षको राजनीतिमा एक प्रकारले बिराम लागेको छ । डा. शशाङ्क कोइराला स्वास्थ्य र अन्य केही समस्याका कारण पछि हटिसक्नुभएको छ भने डा. शेखर कोइराला सत्तरी वर्ष पुगिसक्नु भएकोले अबको काङ्ग्रेस राजनीतिमा डा. शेखरको खोजी हुन सक्ने सम्भावना देखिँदैन । सुजाता कोइरालाबाट कोइरालाको विरासद धानिन सम्भव थिएन र, कोइराला परिवारभित्रै कुनै अर्को व्यक्तित्व (Figur) स्थापित हुन सकेको छैन । रामचन्द्र पौडेल कोइराला पक्षको विरादरी धान्न सक्ने नेता हुनुहुन्नथ्यो र पौडेललाई कोइराला पक्षले उपयोग गर्ने रणनीति मात्र अपनाउँदै आएको थियो । गत (तेह्रौँ) महाधिवेशनमा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले सर्वाधिक मत आर्जन गर्नुभएपछि चौधौँ महाधिवेशनमा उहाँको दाबी सभापति पदमा रहने निश्चित भएको थियो । उनासी वर्षीय रामचन्द्र पौडेल पन्ध्रौँ महाधिवेशनको समयसम्म पचासी वर्षको हुनुहुनेछ र, त्यसपछि उहाँको खोजि नहुने निश्चित छ । अबको महाधिवेशनमा पौडेल मात्र होइन काङ्ग्रेसमा लामो योगदान दिनु भएका डा. रामशरण महत, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, डा. शशाङ्क कोइराला र सुजाता कोइरालालगायत दर्जन बढी नेताहरूको खोजी हुने छैन । त्यसैले काङ्ग्रेसमा कोइराला पक्षको राजनीति अब बिसर्जित हुने निश्चितप्रायः छ । गोपालमान श्रेष्ठलगायत देउवा पक्षका केही नेताहरूका लागि पनि ‘यही’ महाधिवेशन ‘अन्तिम’ बन्न सक्ने अवस्था छ ।

प्रकाशमान सिंह र विमलेन्द्र निधिबाट दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन हुने विश्वास धेरैले गरेका थिएनन् । उनीहरूले देउवालाई साथ दिने घोषणा गरेपछि काङ्ग्रेसलाई राम्रोसँग नबुझ्ने मानिसहरू चकित परे । वास्तवमा यो स्वभाविक थियो र स्वभाविक हुनुका दुई कारण छन् । पहिलो कारण, प्रकाशमान र विमलेन्द्रको स्कूलिङ हो, उहाँहरू दुवैका पिताहरू गणेशमान सिंह र महेन्द्रनारायण निधि बीपी कोइरालाको निधनपछि कोइराला परिवारको पक्षमा कहिल्यै रहनुभएन र, छोराहरूले सिकेको पनि कोइरालाविरोधकै राजनीति हो । सिंह र निधिले आफ्ना समर्थक तथा हितैषीहरूलाई पनि कोइरालाविरुद्ध नै दीक्षित गर्नुभएको हो । प्रकाशमान सिंहले बाह्रौँ महाधिवेशनमा विशेष कारणवश सुशील कोइरालासँग गठबन्धन बनाउनु परेको भए पनि उहाँ कोइरालाको हातमा काङ्ग्रेस अर्पण गर्न चाहनुहुन्नथ्यो ।

विमलेन्द्रका समर्थक र हितैषी पनि कोइरालाविरुद्ध दीक्षित हुँदै आएका हुन् । यदि देउवा र अन्य कसैका बीच प्रतिष्पर्धा भएको हुन्थ्यो भने उहाँहरूको साथ देउवाविरोधीलाई हुन सक्थ्यो, कोइराला र देउवामध्ये एक रोज्नुपर्दा देउवा रोजाइमा पर्नु स्वभाविक हो । दोस्रो कारण मनोवैज्ञानिक छ, शेरबहादुर देउवा सभापतिका रूपमा अन्तिम पटकका लागि पुनः निर्वाचित हुनुभएको छ । तेस्रो कार्यकालका निम्ति उहाँ अग्रसर नहुने निश्चित छ । तर डा. शेखर कोइरालाले यसपटक सभापति बन्ने मौका पाउनुभएको भए आगामी बाह्र वर्षसम्म काङ्ग्रेस कोइरालाकै कब्जामा रहन सम्भव थियो । काङ्ग्रेसको दोस्रो पुस्ताका नेताहरू देउवाको दोस्रो कार्यकालपछि पार्टी आफ्नो हातमा आइपुग्ने ठान्दछन् । शेखर कोइरालाको नेतृत्वमा काङ्ग्रेस गएको अवस्थामा आफ्नो पालो नआउने ठहर दोस्रो पुस्ताका सबै नेताहरूको थियो र, प्रकाशमान सिंह तथा विमलेन्द्र निधिको मनोधारणा पनि त्यसभन्दा भिन्न थिएन । त्यसैले उहाँहरू कोइरालालाई समर्थन नगरेर देउवाको पक्षमा उभिन पुग्नुभएको हो ।

काङ्ग्रेस पार्टी शेरबहादुर देउवाको नियन्त्रणमा गएपछि त्यस पार्टीका युवा कार्यकर्ताभन्दा बढी निराश काङ्ग्रेस बाहिरका मानिस भएका छन् । अबको संसदीय निर्वाचनमा भावी प्रधानमन्त्रीको अनुहार हेरेर पनि जनताले काङ्ग्रेसलाई नरोज्ने सम्भावना बढाएको छ । जे भए पनि दोस्रो कार्यकालका लागि सभापति छानिनु देउवाका निम्ति ‘महाविजय’ बन्न पुगेको छ । दोस्रो कार्यकालमा उहाँले तेस्रो कार्यकालका उत्तराधिकारी किटान गर्नुहुने र त्यस्तो उत्तराधिकारी परिवारभन्दा बाहिरबाट नहुने विश्वास गरिएको छ ।