वसन्तको ‘छोरी’ नियालेपछि…

वसन्तको ‘छोरी’ नियालेपछि…


हरेक नेपाली चलचित्रप्रेमीले हेर्नैपर्ने लघु चलचित्र : ‘छोरी’

‘पूरै जिन्दगीलाई पर्व बनाउँछु भन्नेहरू प्रत्येक पर्वमा रोएर बसेका छन् । महँगो गाडीमा सुरक्षित हुन्छु भन्नेहरू पनि अकाल मृत्युमा पुग्ने गरेका छन् । पैसाले खुशी किन्न सकिने शहरमा बसेर पनि मजस्ता हजारौँ मान्छेहरू बेखुशी छन् । अक्सर खुशी खोज्न हिँडेको मानिस दुःखैदुःखको भूमरीमा रुमलिँदोरहेछ !’

उपरोक्त उदगारसँगै आरम्भ हुन्छ सर्ट मुभी ‘छोरी’ । शहरमा एक्लो जीवन बाँच्दै गरेका एक धनाड्य पुरुष छन्, जो आर्थिक रूपले अति सम्पन्न या वैभवशाली भएर पनि पारिवारिक सदस्यहरूको सामिप्यताको अभावमा क्षण-क्षण तड्पिरहेका छन् । सम्पत्तिले उनलाई पटक्कै खुशी दिन सकेको छैन । उमेरमै एक दुर्घटनामा उनले श्रीमती गुमाए र, मातृवात्सल्य गुमाउन पुगेकी सानी छोरीलाई उनले तनमन लगाएर पालनपोषण गरे, पढाए, बढाए । प्राणभन्दा प्यारी छोरीको खुशीका खातिर उच्चशिक्षा प्राप्तिको निम्ति भन्दै अमेरिका पठाए । तर अमेरिकाको अस्तब्यस्त, मस्त र मेसिनतुल्य दैनन्दिनीमा रुमलिन पुगेकी छोरीसँग आफ्नै बाबुसँग एक मिनेट टेलिफोनमा कुराकानी गर्नेसम्म पनि समय थिएन । ब्यस्त अमेरिकी दिनचर्यामा सहयोग पुगोस् भन्ने ध्येयले होला, एक नेपाली युवकसँग उनको अमेरिकामै बिहे भएको हुन्छ । तर, आफ्ना ज्वाइँलाई एकपटक पनि नजिकबाट देखभेट गर्न नपाएर यता धनाड्य पुरुष विछट्टै बिरही बनिरहेका हुन्छन् । दशैँजस्तो चाडपर्वमा समेत एक्लै बिताउनुपर्दा असैह्य भएर फोन गर्छन् र छोरीसँग बिरह पोख्छन्- ‘यसपालिको दशैँमा पनि नेपाल आएनौ तिमीहरू !…!!’ बाबुसँगको पीडादायी कुराकानीले छोरीको हृदय फतक्कै भएर पग्लन्छ । आफ्ना श्रीमान्सँग नेपाल जान आग्रह गर्छिन्, तर सँगै बसेर खाना खान पनि सात दिन कुर्नुपर्ने परिवेशबाट गुज्रिरहेका श्रीमान्ले ‘कुनै दिन अवश्य नेपाल जाऔँला, तिम्रा बुबासँग भेट गरौँला’ भन्ने आश्वासन दिनबाहेक केही गर्न सक्दैनन् ।

यता, घरेलु सहयोगी एक युवक छ, उ दशैँमा घर गई बाबुआमा र आफन्तजनको हातबाट टीका लगाउन मालिकसँग अनुमति माग्छ । उक्त गरिव युवकलाई ती धनाड्य ‘संसारकै सबैभन्दा धनी मान्छे’ देख्छन् । आर्थिक रूपले विपन्न भए पनि उसँग आमाबाबु र आफन्तजन छन् । चाडबाड उ खुशीले मनाउँछ, जसको मज्जा नै अर्कै हुन्छ ।

यसरी यता बाबु तड्पिँदै छन् उता छोरीको ब्यथा पनि उस्तै छ । रातो साडी लगाएर तीज मनाउने, रातो टीकासहित दशैँमा मान्यजनबाट आशीर्वाद लिने उनको रहरलाई रोवटतुल्य अमेरिकी-जीवनले निलिदिएको छ । अति मायालु बुबाबाट विछोडिएर बाँच्नुपर्दा उनमा पनि जीवनप्रति घोर असन्तुष्टि पन्पिएको छ ।

समग्रमा ‘छोरी’ फिल्मले धन भन्दा घर-परिवार, परिवारका सदस्यको साथ र आफन्तजनसँगको आपसी उल्लास मानव-जीवनमा कता हो कता महत्वशाली हुन्छ भन्ने सन्देश दिएको छ । उल्लिखित कथाबस्तुलाई सजीव रूपमा फिल्ममार्फत् चित्रण गरेका छन् लेखक तथा निर्देशक वसन्त पोखरेलले । फिल्ममा वियोगी बाबुको मूल चरित्रमा युवा निर्देशक वसन्त पोखरेल स्वयमले अभिनय गरेका छन्, जसमा उनी खरो उत्रिएका छन् । छोरीको भूमिकामा सरिता भुजेलले पनि आफूलाई उत्तिकै सशक्त रुपमा प्रस्तुत गरेकी छन् । अजय पन्त, श्रीदा पाण्डे, सम्झना थापा, रामकुमार बिसी, सुरेन्द्र थापा र पासाङ शेर्पाले पनि फिल्ममा दिइएको आ-आफ्ना चरित्रमा न्यायोचित भूमिका निर्वाह गरेका छन् ।

यस्तै, सम्पादन/भीएफएक्स/पार्श्व संगीतको जिम्मेवारी पाएका गौतमराज खड्काको महत्वपूर्ण भूमिका महसूस गर्न सकिन्छ- सर्ट मुभी ‘छोरी’लाई हेरिरहुँ जस्तो तुल्याउने सवालमा । यसैगरी ज्ञानु राईको छायाङ्कन, मनोज राजवाहकको मिक्सिङ, मिनाक्षी भट्टराईको श्रृङ्गार पनि तारिफयोग्य छ । सार्थक फिल्म ‘छोरी’का निर्माता सुवासप्रसाद पाण्डे, कार्यकारी निर्माता नवराज भण्डारी, मुख्य सहायक निर्देशक सौगात बस्नेत र प्रस्तुतकर्ता सुरेन्द्र थापालगायत फिल्मसँग जोडिएका सबै जना बधाई एवम् विशेष धन्यवादका पात्र बनेका छन् । ‘छोरी’ हेरेपछि एउटा सचेत दर्शकलाई यस्तै महसूस हुन्छ ।

‘छोरी’लाई नेपालमा नेट टिभी, नेट टिभी एपमार्फत हेर्न सकिन्छ भने नेपालबाहिरका दर्शकले युटुबमार्फत् यसको आनन्द उठाउन सक्नेछन् । नेपाली चलचित्रलाई मन पराउने तथा माया गर्ने प्रत्येकले एकपटक ‘छोरी’ हेर्नैपर्छ र, ‘विदेशले नेपाललाई पैसा त दिएको छ तर खुशी दिएको छैन’ भन्ने सारगर्वित प्रष्टोक्तिका साथ टुङ्ग्याइएको ‘छोरी’ हेरिसकेपछि दर्शकले उक्त फिल्मसँग जोडिएका सबै सिनेकर्मीहरूको प्रशंसा गर्ने नै छन् भन्ने अनुमान लगाउँदा अतिरञ्जना ठहरिने छैन ।

  • उप्रेती नवीन